
तेस्रो विश्वकप (४ देखी १९ जुन, सन् १९३८, फ्रान्स)
१६ टिम तर, अष्ट्रियाले नाम फिर्ता लिएपछि १५ टिमले प्रतिस्पर्धा गरेका थिए
विजेता :– इटाली
काठमाडौं । विश्वकपको इतिहास हेर्दा तेस्रो विश्वकप आयोजना गर्ने जिम्मेवारी फ्रान्सले पाएको थियो । र, युरोपले त्योसँगै लगातार दोस्रोपटक विश्वपक अयोजना गर्ने भयो ।
फ्रान्सले अर्जेन्टिना र जर्मनीलाई पछि पार्दै आयोजनाको जिम्मेवारी पाएको हो ।
लगातार दोस्रोपटक युरोपले आयोजनाको जिम्मेवारी पाएपछि अर्जेन्टिना र उरुग्वेले प्रतियोगिता नै बहिस्कार गरेका थिए ।
दक्षिण अमेरिकी राष्ट्रले दुई महादेशले पालैपालो आयोजनाको जिम्मेवारी पाउनुपर्ने माग गरेका थिए । तर, मतदानमा फ्रान्सले बाजी मा¥यो । र, आयोजनाको हिसाबलेमात्र होइन सहभागिताको हिसाबले पनि यस विश्वकपमा युरोपको दबदबा रह्यो ।
१६ टिममध्ये १३ वटा युरोपियन राष्ट्र थिए । अष्ट्रियाले अन्तिम अवस्थामा विश्वकप नखेल्ने बताएपछि युरोपबाट १२ टिमले प्रतिस्पर्धा गरेका थिए ।
दोस्रो विश्वयुद्धअघिको यो अन्तिम विश्वकप थियो । स्पेनले पनि घरेलु समस्याका कारण प्रतियोगितामा भाग लिएन ।
र, यस विश्वकपमा पहिलोपटक आयोजकका हिसाबले फ्रान्स र साविक विजेताका हिसाबले इटाली स्वतः प्रतियोगितामा छनोट भएको थियो ।
बाँकी १४ मध्ये ११ स्थान युरोपका लागि छुट्याइएको थियो । तीन स्थान युरोपबाहेकका महादेशलाई छुट्याइएको थियो ।
दक्षिण अमेरिकाबाट ब्राजिल, उत्तर अमेरिकाबाट क्युवा र एसियाबाट डच इष्ट इन्डिज (नेदरल्यान्ड्सले शासन गरेको इन्डोनेसिया) थिए ।
३७ टिमले खेलेको छनोट प्रतियोगिताबाट क्युवा, डच इष्ट इन्डिज (इन्डोनेसिया), नर्वे र पोल्यान्डको पहिलो सहभागिता थियो ।
एसियाका अन्य देशले छनोट प्रतियोगितामा सहभागी नभएका कारण इन्डोनेसिया स्वत छनोट भएको थियो । दोस्रो विश्वकपमाजस्तै यस विश्वकप नकआउट प्रणालीमा खेलाइएको थियो ।
र, निर्धारित ९० मिनेटको समय बराबरीमा सकियो भने ३० मिनेट समय थप गर्ने र त्यस समयमा पनि बराबरी भए । भोलिपल्ट पुनः खल खेलाउने नियम थियो । पेनाल्टी सुटआउटको नियम त्यतिबेलासम्म थिएन ।
क्युवाबले रोमानियालाई हराएर सबैलाई चकित बनाएको थियो । त्यस्तै ब्राजिलले दर्शकमाझ आफ्नो प्रभाव छाड्न सफल भएको थियो ।
छनोट प्रतियोगिता खेलाइएको पहिलो विश्वकप
कूल १८ खेल भएको यस विश्वकपको फाइनलमा इटाली र हंगेरीले प्रतिस्पर्धा गरेका थिए । इटालीले फाइनलमा हंगेरलाई ४–२ ले हराउँदै उपाधि जितेको थियो ।
यससँगै इटाली लगातार दोस्रोपटक उपाधि जित्न सफल भयो । फाइनलमा इटालीका लागि लुइजी कोलाउसी र सिल्भिओ पिओलाले समान दुई गोल गरेका थिए ।
हंगेरीका लागि पल टिट्कोस र जर्जी सारोसीले एक एक गोल गरे । ब्राजिलले स्विडेनलाई ४–२ ले हराउँदै तेस्रो स्थान हासिल गर्यो ।
कुल ८४ गोल भएको प्रतियोगितामा ब्राजिलका लियोनिडास डी सिल्भा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने । उनले ५ गोल गरेका थिए ।