
काठमाडौं । अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले कतारमा सम्पन्न फिफा विश्वकप २०२२ को उत्कृष्ट गोलकिपर चुनिएका छन् ।
फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दा एक पेनाल्टी बचाएका मार्टिनेजले विश्वकपको गोल्डेन ग्लोभ्स पाएका हुन् ।
३६ वर्षपछि विश्वकपको उपाधि जित्नेक्रममा अर्जेन्टिनाले आइतबार कतारको लुसैल रंगशालामा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै तेस्रोपटक विश्वकपको उपाधि जितेको थियो । खेल पेनाल्टीमा पुग्नुअघि अर्जेन्टिना र फ्रान्सले ३–३ को बराबरी खेलेका थिए । अर्जेन्टिनाले पछिल्लो पटक सन् १९८६ मा विश्वकपको उपाधि जितेको थियो ।
अर्जेन्टिनालाई जिताउन महत्त्वपूर्ण खेलमा नायक बनेका मार्टिनेजले प्रतियोगिताभर कुल तीन पेनाल्टी बचाए । उनले फाइनलअघि नेदरल्यान्ड्सविरुद्धको क्वार्टरफाइनल खेलमा दुई पेनाल्टी बचाएका थिए ।
मार्टिनेज उत्कृष्ट गोलकिपर बन्दा अर्जेन्टिनाका कप्तान लियोनल मेसी प्रतियोगिताको उत्कृष्ट खेलाडी बने । उनले प्रतियोगिताभर सात गोल र तीन असिस्ट गरे । यस्तै, अर्जेन्टिनाकै इन्जो फर्नान्डेज प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी घोषित हुँदा गोल्डेन बुट भने फ्रान्सका काइलियन एमबाप्पेले पाए । फाइनलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरेका एमबाप्पेले प्रतियोगिताभर आठ गोल गरे ।