
काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसी कतारमा सम्पन्न फिफा विश्वकप २०२२ को सर्वोत्कृष्ट खेलाडी बनेका छन् । मेसीकै प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचाल्न सफल भएको थियो ।
मेसीले विश्वकपमा गोल्डेन बल अवार्ड जितेको यो दोस्रोपटक हो । उनले यसअघि २०१४ को विश्वकपमा पनि गोल्डेन बल अवार्ड जित्न सफल भएका थिए । त्यतिबेला अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो । विश्वकपमा दुईपटक गोल्डेन बल अवार्ड जित्ने मेसी पहिलो खेलाडी हुन् ।
अर्जेन्टिनाकै मिडफिल्डर इन्जो फर्नान्डेजले कतारमा सम्पन्न फिफा विश्वकपमा उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न सफल भएका छन् । २१ वर्षे फर्नान्डेजले अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । अर्जेन्टिनाले आइतबार राति पेनाल्टी सुटआउट ४–२ ले हराउँदै उपाधि जित्न सफल भएको थियो । अर्जेन्टिनाले पछिल्लोपटक सन् १९८६ मा विश्वकपको उपाधि जितेको थियो ।
सातपटक बालोन डी‘अर अवार्ड जित्न सफल ३५ वर्षे मेसीले प्रतियोगितामा सात गोल गर्नुका साथ अर्को तीन गोलमा अवसर सिर्जना गरिदिएका थिए ।
मेसीले कतारमा सम्पन्न फाइनलको नियमित समयमा एक र थपिएको समयमा एक गोल गरेका थिए । कतारको लुसैल रंगशालामा सम्पन्न फाइनलको निर्धारित ९० मिनेटको समय २–२ को बराबरीमा सकिएपछि खेल थप समयमा धकेलिएको थियो । थप समयमा दुवै टिमले १–१ गोल गरेपछि खेल पेनाल्टी समयमा धकेलिएको थियो । फ्रान्सका काइलियन एमबाप्पेले ह्याट्रिक गरेपनि अर्जेन्टिनाको जितलाई रोक्न सकेनन् । एमबाप्पे सन् १९६६ पछि विश्वकपको फाइनल ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । १९६६ को विश्वकपमा इङ्ल्यान्डका जिओफ हर्स्टले फाइनलमा पश्चिम जर्मनीविरुद्ध ह्याट्रिक गरेका थिए ।
पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लियोनल मेसी, पाउलो डिबाला, लिजाड्रो पाराडेज र गोन्जालो मोन्सियलले गोल गरे । फ्रान्सका एमबाप्पे र कोलो मुआनीले गोल गरेपनि किङ्स्ले कोमनको बल अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनजले बचाइदिएका थिए । यस्तै, फ्रान्सका अरेलियन चाउमेनीको प्रहार बाहिरियो ।