
काठमाडौं । इन्जुरी समयमा दुई गोल गरेपछि इरानले बिहीबार १० खेलाडीमा सीमित बन्दै खेलको अन्त्य गरेको वेल्सलाई २–० ले पराजित गरेको छ । यससँगै इरानले कतारमा जारी फिफा विश्वकपमा पहिलो जित निकालेको छ ।
कतारको अहमेद बिन अली रंगशालामा सम्पन्न खेलको इन्जुरी टाइममा इरानका रुजबेह चेसहमी र रमिन रेजाइनले गोल गरेपछि इरानले रोमाञ्चक जित निश्चित गर्यो । यो जितसँगै इरानले अन्तिम–१६ मा प्रवेश गर्ने सम्भावनालाई कायम राखेको छ ।
त्यसअघि, खेलको ८७ औं मिनेटमा गोलकिपर वाइन हेनेसीले रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि वेल्स १० खेलाडीमा सीमित बनेको थियो । इरानका मेहदी टरेमीले अघि बढाएको बलमा पेनाल्टी बक्सबाहिर आएर गोलकिपर हेनेसीले फाउल गरेपछि उनलाई सुरुमा रेफ्रीले पहेलो कार्ड देखाएका थिए । तर, पछि भारको सहयोगमा हेनेसीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए ।
खेलको १६ औं मिनेटमा इरानका अलि घोलिजाडेहले गोल गरेपछि भिडियो असिस्टेन्ट रेफ्री (भार) ले त्यसलाई अफसाइड घोषणा गरेको थियो । ३० औं मिनेटमा वेल्सका कप्तान गारेथ बेलले १८ यार्ड बक्स बाहिरबाट गरेको प्रहार इरानको गोलकिपर हुसैन हुसैनीले सहजै नियन्त्रणमा लिए ।
पहिलो हाफको इन्जुरी टाइममा इरानका साइद इजाटोलाहीले गरेको क्रसमा पेनाल्टी बक्सभित्र रहेका सरदार अजमोउमले सम्पर्क बनाउन सकेनन् । त्यसको अर्को मिनेटमा इरानका अहमख नौरोलाहले १८ यार्ड बक्स बाहिरबाट गरेको प्रहार वेल्सका गोलकिपर वाइन हेनेसीले सहजै बिफल बनाए ।
पहिलो हाफको तुलनामा दोस्रो हाफमा इरान अझ आक्रामक देखियो । ५२ औं मिनेटमा सरदार अजमोनले मैदानको मध्य भागबाट एक्लै अघि बढाएर १८ यार्ड बक्सभित्र वेल्सका गोलकिपर मात्र रहँदा गरेको प्रहार ‘फस्र्ट बार’मा लागेर फर्कियो । सोही बलमा पेनाल्टी बक्सबाहिरबाट अलि घोलिजाडेहले गरेको प्रहार पनि ‘सेकेन्ड बार’ मा लागेर फर्कियो ।
यो जितसँगै दुई खेलबाट तीन अंक जोडेको इरान समूह ‘बी’को दोस्रो स्थानमा उक्लिएको छ । यस्तै, समान खेलबाट एक अंक जोडेको वेल्स तालिकाको पुछारमा झरेको छ ।
यसअघि, भएको समूह चरणको पहिलो खेल वेल्स अमेरिकासँग १–१ को बराबरीमा रोकिँदा इरान भने इंग्ल्यान्डसँग ६–२ ले पराजित भएको थियो । समूहबाट शीर्ष दुई टिमले अन्तिम–१६ मा स्थान बनाउनेछन् ।