site stats
जर्मनी र स्पेनमा को समूह विजेता बन्दैछ ?
जर्मनी र स्पेनमा को समूह विजेता बन्दैछ ?

 काठडमाडौं । कतार विश्वकपको समूह ‘ई’ मा दुई विश्व च्याम्पिनय जर्मनी र स्पेनसहित एसियाली पावर हाउस जापान र ‘अन्डर डग’ कोस्टा रिका छन् । 

कोस्टा रिका त्यही टिम हो जसले २०१४ को विश्वकपमा इंग्ल्यान्ड, उरुग्वे र इटाली भएको समूह ‘डी’ बाट शीर्ष स्थानमा रहँदै अन्तिम–१६ मा स्थान बनाएको थियो । कोस्टा रिकाले त्यसबेला इंग्ल्यान्डसँग बराबरी खेल्दा इटाली र उरुग्वेलाई हराएर सनसनी मच्चाएका थियो । त्यसबेला कोस्टा रिका विश्वकपको क्वार्टरफाइनलमा नेदरल्यान्ड्ससँग पेनाल्टी सुटआउटमा पराजित हुँदै विश्वकपबाट बाहिरिएको थियो ।

२०१० उपाधि जितेको स्पेन यसपटक युवा र अनुभवी खेलाडीबाट सन्तुलित देखिन्छ । मुख्य प्रशिक्षक लुइस एनरिकेको टिममा अनुभवी सर्जियो बुस्केटसँगै युवा मिडफिल्डर पेड्री, गाभीसँगै रक्षापंक्तिमा ड्यानी कार्भाहाल, गर्सिया, जोर्डी अल्बा र फरवार्ड लाइनमा फेरान टोरेस, अल्भारो मोराठा र अंसु फातीजस्ता खेलाडी छन् । टिमका अधिकांश खेलाडी युरोपका शीर्ष लिग खेलिरहेका छन् । यसले पनि स्पेनलाई कतार विश्वकपको दाबेदारमध्येको एकमा हेरिएको छ ।

विश्वकपको गत संस्करणमा समूह चरणबाटै बाहिरिए पनि जर्मनी विश्वकपको सदाबहार दाबेदार हो । एकाधबाहेक आम फुटबल समर्थकमाझ चर्चित रहेका खेलाडी नरहेपनि टिमको रुपमा जर्मनीको प्रदर्शन उत्कृष्ट रहने गर्दछ । 

एसियाली ‘पावर हाउस’ जापानले विश्वकपको गत संस्करणमा प्रि–क्वार्टरफाइनलसम्म पुगेको थियो । विश्व फुटबलमा पछिल्लो समय आफ्नो प्रदर्शनमा उल्लेखनिय सुधार गरेको देशमध्येमा जापान प्रमुख नाम हो । यसैकारण यो समूहलाई विश्वकपको ‘ग्रुप अफ डेथ’ को रुपमा चित्रण गर्ने समर्थकहरुको संख्या पनि ठूलो छ ।


समूह ‘ई’
स्पेन

spain (1)1669212718.jpg
फिफा वरीयता– ७
विश्वकप सहभागिताः १६ पटक (१९३४, १९५०, १९६२, १९६६, १९७८, १९८२, १९८६, १९९०, १९९४, १९९८, २००२, २००६, २०१०, २०१४, २०१८, २०२२)
उत्कृष्ट नतिजाः विजेता (२०१०)
खेल–
मसिंर ७, बुधबार    स्पेनविरुद्ध कोष्टारिका 
मंसिर ११, आइतबार    स्पेनविरुद्ध जर्मनी 
मंसिर १५, बिहीबार    जापानविरुद्ध स्पेन

स्पेनले २०१० मा पहिलोपटक विश्वकपको उपाधि जितेको थियो । तर, त्यसपछि भने अहिलेसम्म अन्तिम–१६ भन्दा आगाडीको यात्रा तय गर्न सकेको छैन । यसबीचमा स्पेनका टिमको धेरै आलोचना भयो । विवादहरू भए । टिममा धेरै निराशा छाए । तर, लुइस इनरिकेको नेतृत्वमा स्पेनिस टिम ट्रयाकमा फर्किएको छ । र, २००८ देखी २०१२ सम्म हासिल गरेको सफलता दोह¥याउने कसरतमा छ । 

गत संस्करणमा पनि स्पेन अन्तिम–१६ मा आयोजक रुससँग पेनाल्टी सु्टआउटमा ४–३ पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । युरो–२०२० भने स्पेन सेमिफाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । इटालीले अन्तत युरो–२०२० को उपाधि पनि जित्यो । पछिल्लो समय नेसन्स लिगमा भने स्पेनले राम्रो प्रदर्शन गरेको छ । समूह–२ मा स्पेन शीर्ष स्थानमा रहेको छ । 

२००८ देखी २०१२ सम्मको टिमलाई स्पेनको ‘गोल्डेन जेनेरेसन’ पनि भनिन्छ । त्यो पुस्ताले विदा लिएपछि स्पेनले जितका लागि संघर्ष गर्नु परेको थियो । तर, इनरिकेले टिमलाई पुनः ट्रयाकमा फर्काएका छन् । टिममा युवा खेलाडीको वर्चश्व छ । 

इनरिकेले २०१८ देखी स्पेनको प्रशिक्षण सम्हाल्दै आएका छन् । तथापी उनले बीचमा केही समय जिम्मेवारीबाट बाहिर थिए । त्यसअघि एएस रोमा, सेल्टा भिगो र बार्सिलोनाको प्रशिक्षण सम्हालिसकेका इनरिकेले खेलाडीका रुपमा तीन पटक विश्वकप खेलिसकेका छन् । र, प्रशिक्षकका रुपमा उनको यो पहिलो विश्वकप हुनेछ । 

इनरिके जोखिमपूर्ण निर्णय लिन हच्किदैनन् । उनले सर्जियो रामोसलाई बाहिर राखेर युवा खेलाडी पेड्री र गाभीलाई मौका दिएका थिए । मिडफिल्डमा बलियो भए पनि स्पेनमा एउटा गतिलो स्ट्राइकरको कमि छ । तथापी अंसु फाती, फेरान टोरेस, अल्भारो मोराटा, जेरार्ड मोरेनो जस्ता खेलाडीले आफुलाई प्रमाणित गर्नुपर्नेछ ।

१९५० मा चौाथो स्थान हासिल गरेको स्पेनले १९३४, १९८६, १९९४ र २००२ को विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो ।

यसपटक समूह ‘ई’मा रहेको स्पेनले जापान, जर्मनी र कोष्टारिकाविरुद्ध प्रतिस्पर्धा गर्नुपर्नेछ । 

स्पेन टिम–
गोलकिपर : युनाई साइमन (एथलेटिक बिल्बाओ), रोबर्ट सान्चेज (ब्राइटन एन्ड होभ), डेभिड राया (ब्रेन्टफोर्ड)

रक्षापंक्ति : सेसर एजप्लिकुएटा (चेल्सी), ड्यानी कार्भाहाल (रियाल मड्रिड), इरिक गार्सिया (बार्सिलोना), ह्युगो गुइलामोन (भ्यालेन्सिया), पाउ टोरेस (भिल्लारियाल), एमेरिक लापोर्टे (म्यानचेस्टर सिटी), जोर्डी अल्बा (बार्सिलोना), जोसे गाया (भ्यालेन्सिया) 

मिडफिल्ड : सर्जियो बुस्केट (बार्सिलोना), रोड्रि हर्नान्डेज (म्यानचेस्टर सिटी), गाभि (बार्सिलोना), कार्लोस सोलर (पीएसजी), मार्कोस लोरेन्टे (एट्लेटिको मड्रिड), पेड्रि गोन्जालेज (बार्सिलोना), कोके (एट्लेटिको मड्रिड)

फरवार्ड : फेरान टोरेस (बार्सिलोना), निको विलियम्स (एथलेटिक बिल्बाओ), येरेमी पिनो (भिल्लारियाल), अल्भारो मोराटा (एट्लेटिको मड्रिड), मार्को असेन्सियो (रियाल मड्रिड), पाब्लो साराबिया (पीएसजी), ड्यानी ओल्मो (आरबी लाइपजिग), अंसु फाती (बार्सिलोना)

कोष्टारिका 

costa rica (1)1669212785.jpg
फिफा वरीयताः ३१

विश्वकप सहभागिताः ६ पटक (१९९०, २००२, २००६, २०१४, २०१८, २०२२)
उत्कृष्ट नतिजाः क्वार्टरफाइनल (२०१४)

खेलः

मसिंर ७, बुधबार        स्पेनविरुद्ध कोष्टारिका 

मंसिर ११, आइतबार    कोष्टारिकाविरुद्ध जापान

मंसिर १५, बिहीबार        कोष्टारिकाविरुद्ध जर्मनी

१९९० मा पहिलोपटक विश्वकपमा स्थान बनाउन सफल कोष्टारिकाले दोस्रो पटक विश्वकप खेल्नका लागि १२ वर्ष कुर्नु परेको थियो । ब्राजिलमा सम्पन्न २०१४ को विश्वकपमा कोष्टारिकाले क्वार्टरफाइनल सम्मको यात्रा तय गर्दै सबैलाई चकित बनाइदिएको थियो । तर, २०१८ मा भने कोष्टारिका समूह चरणबाटै बाहिरिएको थियो । 

नोभेम्बर २०२२१ मा क्यानडासँग पराजित भएपछि कोष्टारिकाको विश्पकप यात्रा कमजोर भएको मानिएको थियो । तर, कोष्टारिकाले हरेस खाएन र छनोट चरणको पछिल्ला सात मध्ये ६ खेलमा जित निकाल्दै प्लेअफमा स्थान बनाउन सफल भयो । प्लेअफमा न्युजिल्यान्डलाई हराउँदै कोष्टारिकाले कतारको टिकट पक्का गरेको हो । र, कोष्टारिका लगातार तेस्रो पटक विश्वकपमा स्थान बनाउन सफल भयो । 

युवा खेलाडीको बर्चश्व रहेको कोष्टारिकाको यस टिमलाई गोल्डेन जेनेरेसन मानिएको छ । र, ब्राजिलमा जस्तै नतिजा निकाल्ने अभियानमा कोष्टारिका लागेको छ । तथापी कतारमा कोष्टारिकाको यात्रा सहज भने छैन । कोष्टारिकाले समूह चरणमा चार पटकको विश्व विजेता जर्मनी तथा एक पटकको विश्व विजेता स्पेनसँगै एसियाली पावर हाउस जापानसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । 

कोष्टारिका अहिले कोलम्बियाका प्रशिक्षक लुइस फर्नान्डो स्वारेजको प्रशिक्षणमा छ । ६२ वर्षे स्वारेजले जर्मनीमा सम्पन्न २००६ को विश्वकपमा इक्वेडरलाई सनसनी रुपमा अन्तिम–१६ मा पु¥याएका थिए । साथै २०१४ मा होन्डुरसलाई विश्वकपमा छनोट गराउन सफल भएका थिए । 

गोलकिपर केलर नाभास कोष्टारिकाका महत्वपूर्ण खेलाडी हुन् । १९९० मा लुइस गाब्रिएलोले कोष्टारिको पोष्टमा उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यस्तै २०१४ मा कोष्टारिकाले क्वार्टरफाइनलको यात्रा तय गर्दा नाभासले उत्कृष्ट प्रदर्शन गरेका थिए । रियाल मड्रिडबाट लगातार तीन पटक यूईएफए च्याम्पियन्स लिगको फाइनल खेलेका नाभास अहिले पेरिस सेन्ट जर्मेन (पीएसजी)मा छन् । सन्डरल्यान्डका १८ वर्षे मिडफिल्डर जेविसन बेनेट्टे पनि कोष्टारिकाका अर्का एक महत्वपूर्ण खेलाडी हुन् ।  
 

जर्मनी 
germany (1)1669212818.jpg

फिफा वरीयताः ११
विश्वकप सहभागिताः २० पटक (१९३४, १९३८, १९५४, १९५८, १९६२, १९६६, १९७०, १९७४, १९७८, १९८२, १९८६, १९९०, १९९४, १९९८, २००२, २००६, २०१०, २०१४, २०१८, २०२२)
उत्कृष्ट नतिजाः विजेता (१९५४, १९७४, १९९०, २०१४)
खेलः
मसिंर ७, बुधबार        जर्मनीविरुद्ध जापान
मंसिर ११, आइतबार    स्पेनविरुद्ध जर्मनी
मंसिर १५, बिहीबार        कोष्टारिकाविरुद्ध जर्मनी

“तपाईं ११ साथी हुनुपर्छ,” सेप हरबर्गरले स्विट्जरल्यान्डमा हंगेरीविरुद्ध फिफा विश्वकप फाइनलअघि जर्मन राष्ट्रिय टिमलाई भनेको कुरा हो, माथिको पंक्ति । अब जर्मनीमा एउटा प्रख्यात भनाइ छ– यो टिमका उपलब्धि त्यही भनाईको वरपर घुमेको छ । र त्यस कुराले जर्मन फुटबलको एकदमै हृदयमा प्रहार गरेको छ । जर्मन फुटबलमा टिम भावना, लडाइँको भावना र एकताका कारण ठूला प्रतियोगितामा असाधारण रूपमा सफलता हासिल गरेका छन् । 


त्यस भनाईलाई सिक्का एक पाटो मान्ने हो भने, सिक्काको उल्टो पक्ष यो हो कि टिमभित्र सद्भाव र वातावरणको भावना ठीक छैन भने सफलता हासिल गर्न कठिन हुनेछ । जुन रूसमा सम्पन्न २०१८ को विश्वकपमा देखिएको थियो । राष्ट्रिय दबाब र आफ्नै अपेक्षाहरूसँग संघर्ष गरिरहेको जर्मनीले सबैभन्दा खराब प्रदर्शन ग¥यो र विश्वकपको समूह चरणबाटै बाहिरियो ।

कतार विश्वकप २०२२ को छनोटमा र यूईएफए नेसन्स लिगमा टिमको प्रदर्शनलाई एकरुपता कायम गर्न कठिनाई देखिएको छ । त्यसकारण यस विश्वकपमा जर्मनी पुरानो लय भेट्टाउन सफल हुन्छ की खराब लयले निरन्तरता भनेर हेर्न कतार विश्वकप थप रोमाञ्चक हुनेछ । 

१९३४ मा पहिलोपटक विश्वकप खेल्दा नै जर्मनीले तेस्रोे स्थान हासिल गर्न सफल भएको थियो । लगत्तैको विश्वकप १९३८ मा भने जर्मनी पहिलो चरणबाटै बाहिरिएको थियो । १९५० मा जर्मनी प्रतिबन्धमा थियो । त्यसपछि १९५४ मा फर्किएको जर्मनीले स्विट्जरल्यान्डमा उपाधि जित्न सफल भयो । दोस्रो उपाधि जित्न जर्मनीले दुई दशक कुनुप¥यो । आफैले आयोजना गरेको १९७४ को विश्वकप उपाधि जर्मनीले घरमै राख्यो । त्यसपछि १९८२ र १९८६ मा लगातार उपविजेता बनेको जर्मनीले इटालीमा सम्पन्न १९९० को विश्वकपमा फेरी उपाधि उचाल्यो । 

त्यसपछि पनि लगातार राम्रो प्रदर्शन गरेको जर्मनी २००६ र २०१० मा लगातार तेस्रो स्थान हासिल ग¥यो । २०१४ मा जर्मनीले फेरी विश्वकपको उपाधि उचाल्यो । तर, रुसमा भने जर्मनी समूह चरणबाटै बाहिरियो । 

इङ्ल्यान्डमा सम्पन्न युरो–२०२० मा पनि जर्मनीले अन्तिम–१६ भन्दा माथिको यात्रा तय गर्न सकेन । युईएफए नेसन्स लिग ‘ए’मा पनि जर्मनी समूह–३ को तेस्रो स्थानमा रह्या । यस समूहबाट इटाली र हंगेरी क्रमशः पहिलो र दोस्रो स्थानमा रहन सफल भए । रोचक त के हो भने इटाली र हंगेरी दुबैले कतारको टिकट काट्न सफल भएनन् । 

१५ वर्ष लामो समयको कार्यकालपछि जर्मनीका प्रशिक्षक योकिम लोले टिम छाडेका छन् । र उनको स्थान बायर्न म्युनिखका पूर्व प्रशिक्षक हान्सी फ्लिकले लिएका छन् । बायर्नमा सफल कार्यकाल विताएका फ्लिकले अगष्ट २०२१ मा जर्मनीको प्रशिक्षण सम्हालेका हुन् । समग्रमा, फ्लिकले टिममा जर्मन फुटबलको विशेषतामा आधारित एक आकर्षक शैली समावेश गरेका छन् । 

फ्लिक र उनको टोलीले सेमिफाइनलमा पुग्ने न्यूनतम लक्ष्य हासिल गर्ने हो भने आफ्नो फिनिसिङ सुधारमा गर्न काम गर्नुपर्नेछ । रक्षा र मध्यपंक्तिमा सशक्त रहेको जर्मनीमा स्ट्राइकरको भने कमी देखिएको छ । तथापी अनुभवी थोमस मुलरसँगै युवा खेलाडी काइ हाभाट्ज, युसुफा मुकोको जस्ता खेलाडीले विपक्षी रक्षापंक्तिमा बलियो चुनौती पेश गर्न सक्नेछ । 

गोलकिपर म्यानुयल नुयर तथा मुलरका लागि यो विश्वकप अन्तिम हुन सक्छ । त्यस्तै २०१४ को फाइनलमा निर्णायक गोल गरेको मारियो गोट्जे ५ वर्षपछि टिममा फर्किएका छन् । उनको पनि यो विश्वकप अन्तिम हुनसक्छ । 

जर्मनीको टिम – 
गोलकिपर– म्यानुयल नुयर (बायर्न म्युनिख), मार्क–आन्द्रे टेर स्टेगन (बार्सिलोना), केभिन ट्राप (इन्ट्राचट फ्राङ्कफर्ट)
रक्षापंक्ति – म्याथिस गिन्टर (फ्रेइबर्ग), एन्टोनियो रुडिगर (रियाल मड्रिड), निकलस सुएल (बोरुसिया डर्टमन्ड), निको स्लोटरबेक (बोरुसिया डर्टमन्ड), थिलो केहरर (वेस्ट ह्याम युनाइटेड), डेभिड राउम (आरबी लाइपजिग), लुकास क्लोस्टरम्यान (साउथह्याम्पटन), अर्मेल बेला कोटचप (साउथह्याम्पटन), क्रिस्टेन गुन्टर (फ्रेइबर्ग)
मिडफिल्ड – इल्के गुन्डोगन (म्यान्चेस्टर सिटी), योनास होफम्यान (बोरुसिया मोन्चेनग्लाडबच), लियोन गोरेट्जका (बायर्न म्युनिख), सर्ज गनाब्री (बायर्न म्युनिख), लेरोए साने (बायर्न म्युनिख), जमाल मुसियाला (बायर्न म्युनिख), जोशुआ किमिच (बायर्न म्युनिख) थोमस मुलर (बायर्न म्युनिख), युलियन ब्रान्डट (बोरुसिया डर्टमण्ड), मारियो गोट्जे (इन्ट्राचट फ्रांकफर्ट)
फरवार्ड – काई हाभर्ट्ज (चेल्सी), युसुफा मुकोको (बोरुसिया डर्टमन्ड), निकलस फुएलक्रग (वेर्डर ब्रेमेन), करिम अडेमी (बोरुसिया डर्टमन्ड)

जापान

japan1669212914.jpg
फिफा वरीयता– २४
विश्वकप सहभागिताः ६ पटक (१९९८, २००२, २००६, २०१०, २०१४, २०१८, २०२२)
उत्कृष्ट नतिजाः अन्तिम–१६ (२००२, २०१०, २०१८)
खेलः
मसिंर ७, बुधबार        जर्मनीविरुद्ध जापान
मंसिर ११, आइतबार    जापानविरुद्ध कोष्टारिका
मंसिर १५, बिहीबार        जापानविरुद्ध स्पेन

सन् १९९० मा व्यावसायिक च्याम्पियनसिप (जे लीग) सुरु भएपछि जापानको फुटबलमा धेरै माथि आयो । ठूलो प्रगति गरेको जापानले फ्रान्समा सम्पन्न १९९८ को विश्वकपमा लामो प्रतिक्षापछि डेब्यू गर्यो । त्यसपछि जापानले लगातार विश्वकपमा स्थान बनाउँदै आएको छ । कतार विश्वकप जापानको सातौं सहभागिता हो । 

फ्रान्समा डेब्यू गर्दा जापानले सबै खेल हारेर समूह चरणबाट बाहिरिएको थियो । चार वर्षपछि विश्वकप भने जापानका नितान्त फरक रह्यो । दक्षिण कोरियासँग सह–आयोजक बनेर आफैले विश्वकप आयोजना गरेको थियो । फिलिप ट्राउसियरको नेतृत्वमा जापानले घरेलु दर्शकको साथमा पहिलो पटक नकआउट चरणमा स्थान बनाउन सफल भए । 

लिग चरणमा बेल्जियमसँग २–२ को बराबरी खेलेको जापानले रुसलाई १–० र ट्निसियालाई २–० ले हराउँदै समूह विजेता बनेर अन्तिम–१६ मा स्थान पक्का गर्यो । तर जापानले त्यो भन्दा अगाडीको यात्रा तय गर्न सकेन । टर्कीसँग १–० ले हारेपछि जापानको यात्रा टुंगिएको थियो । 

जर्मनीमा सम्पन्न २००६ को विश्वकपमा भने जापान समूह चरणबाटै बाहिरियो । २०१० को दक्षिण अफ्रिका विश्वकपमा जापानले पुन? अन्तिम–१६ मा स्थान बनायो । ब्राजिलमा सम्पन्न २०१४ को विश्वकपमा भने जापान फेरी समूह चरणभन्दा माथिको यात्रा तय गर्न असफल भयो । रुसमा भने जापानले अन्तिम–१६ को यात्रा गर्न सफल भयो । 

पछिल्लो समय जापान एसियाको ‘पावर हाउस’ हो । २० वर्षपछि एसियामा फर्किएको कतार विश्वकपमा जापान नयाँ उचाईमा पुग्ने अभियानमा छ । तर, कतारमा जापानको यात्रा सहज भने छैन । जापान कठिन समूहमा छ । समूह ‘ई’मा जापानले जर्मनी, स्पेन र कोष्टारिकाविरुद्ध खेल्नेछ । यसका बाबजुद जापनले कम्तिमा क्वार्टरफाइनलसम्को लक्ष्य लिएको छ । जुन जापानका लागि ‘फलामको चिउरा’ सरह हो । 

जापान यसपटक आफ्नै देशका प्रशिक्षक हाजिमे मोरियासुको प्रशिक्षणमा छ । मोरियासुले अगष्ट २०१८ देखी जापानको टिम सम्हाल्दै आएका छन् । त्यसअघि मोरियासुले जपानको युवा टिम पनि सम्हालेका थिए । त्यसअघि मोरियासुले जे लिगको क्लब सनफ्रेस हिरोसिमाको प्रशिक्षण सम्हालेका थिए । ६ वर्षको कार्यकालमा उनले तीन उपाधि जिताएका थिए । क्लब फुटबलमा उनले ४–३–३ र ५–४–१ को शैलीमा खेलाएका थिए । तर, राष्ट्रिय टिममा भने उनले आफ्नो रणनीति परिवर्तन गरेका छन् । उनले ४–२–३–१ र ४–४–२ को शैलीमा जापानलाई खेलाएका छन् । 

१९९८ मा विश्वकप डेब्इु गरेका ताकुमी मिनामिनो अझै पनि जापानको प्रमुख खेलाडी हुन् । युरोपियन क्लब मोनाकोबाट खेल्ने उनी २०१४ बाट नियमित राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । त्यस्तै इङ्लिस प्रिमियर लिगको क्लब काउरु मितोमा पनि जापनका हेर्नलायक प्रतिभा हुन् । 

प्रकाशित मिति:बुधबार, मंसिर ७, २०७९  २०:०७
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल