
छैटौँ विश्वकप (८ देखि २९ जुन १९५८, स्वीडेन)
तीन महादेशका १६ टिमको सहभागिता
विजेता : ब्राजिल
काठमाडौं । यस विश्वकप आयोजनाको लागि अर्जेन्टिना, चिली, मेक्सिको र स्विडेनले इच्छा व्यक्त गरेका थिए ।
१९५० को विश्वकप सुरु हुनअघि रियो दी जेनेरियोमा बसेको फिफा कंग्रेसले स्वीडेनलाई आयोजनाको अधिकार दिएको हो ।
१९३४ र १९३८ मा जस्तै दोस्रोपटक लगातार युरोपले आयोजनाको अधिकार पाएपछि अमेरिकी राष्ट्र आक्रोशित भएका थिए । त्यसपछि फिफाले लगातार एउटै महाद्वीपमा विश्वकप नगर्ने निर्णय लिएको थियो ।
आयोजकका हैसियतले स्वीडेन र साविक विजेताका हैैसियतमा पश्चिम जर्मनीले सिधै विश्वकपमा स्थान पक्का गरेका थिए ।
बाँकी १४ मध्ये ९ टिम यरोप, तीन टिम दक्षिण अमेरिका, एक टिम उत्तर र मध्य अमेरिका तथा एक टिम एसिया र अफ्रिकाका लागि छुट्टाइएको थियो ।
टर्की, इन्डोनेसिया र सुडानले खेल्न मानेनन् । यस विश्वकपमा एसिया र अफ्रिकाबाट कुनै पनि टिम छनोट भएनन् ।
उत्तर अमेरिकाबाट मक्सिको, दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल र पाराग्वे गरी तीन टिम छनोट भएका थिए । युरोपबाट १२ टिम छनोट भए ।
र, विश्वकप इतिहासमा पहिलोपटक सबै ब्रिटिस टिम (इङ्ल्यान्ड, वेल्स, नर्दन आयरल्यान्ड र स्कटल्यान्ड) विश्वकपमा छनोट भएका थिए ।
सोभियत युनियन पहिलोपटक विश्वकपमा छनोट भएको थियो । इटाली विश्वकपमा छनोट हुन असफल रह्यो । त्यस्तै दुई पटकको विजेता उरुग्वेसँगै स्पेन र बेल्जियम पनि विश्वकपमा छनोट हुन सकेन ।
यस विश्वकपबाट प्रतियोगिताको स्वरुप परिवर्तन गरिएको थियो । १६ टिमलाई चार समूहमा विभाजन गरिएको थियो ।
र, यसपटक समूहका प्रत्येक टिमले प्रत्येक टिमसँग प्रतिस्पर्धा गर्नुपर्ने थियो ।
खेल बराबरीमा रोकिए दुबै टिमले एक अंक र जित्ने टिमले दुई अंक पाउने नियम लागु गरिएको थियो ।
समूहमा दुई टिमले बराबर अंक ल्यायो भने औसत गोललाई आधर बनाइएको थियो । चार समूहबाट विजेता र उपविजेताले क्वार्टरफाइनलमा स्थान बनाएका थिए ।
फाइनलमा ब्राजिलले स्वीडेनलाई ५–२ ले हराउँदै उपाधि जितेको थियो ।
त्यही विश्वकपबाट सर्वकालीन महान खेलाडी पेलेको उदय भएको थियो । दक्षिण अमेरिकामा उरुग्वेको दबादबा तोडिएको थियो ।
पेलेलाई ब्राजिलले समूह चरणको अन्तिम खेलसम्म खेलाएको थिएन । समूह चरणको अन्तिम खेल सेभियत युनियनविरुद्ध ब्राजिलले पेलेलाई पहिलो रोजाईमा राख्यो ।
उनले गोल गर्न त सकेनन् तर आफ्नो प्रभाव छाड्न सफल भए ।
गारिन्चा र पेलेको तालमेल राम्रो बनेको थियो । उक्त खेलमा ब्राजिल २–० ले विजयी भयो । त्यसअघि ब्राजिलले इङ्ल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो ।
विश्वकप इतिहासकै पहिलो गोलरहित बराबरी थियो । इङ्ल्यान्डसँग गोलरहित बराबरी खेलेपछि ब्राजिलले पेले र गारिन्चा दुबैलाई मौका दिएको थियो । पहिलो खेलमा ब्राजिलले अष्ट्रियालाई ३–० ले पराजित गरेको थियो ।
त्यसपछि भने १७ वर्षे पेलेले पछाडि फर्केर हेर्नु परेन । क्वार्टरफाइनलमा वेल्सविरुद्ध पेलेले गरेको एक गोल नै ब्राजिलको जितमा निर्णायक बन्यो ।
यससँगै पेले विश्वकपमा सबैभन्दा सानो उमेरमा गोल गर्ने खेलाडी पनि बने । पेलेले १७ वर्ष २३९ दिनको उमेरमा गोल गरेका थिए ।
सेमिफाइनलमा ब्राजिलले फ्रान्सलाई ५–२ ले हरायो । त्यस खेलमा पेलेले ह्याट्रिक नै गरे । फाइनलमा ब्राजिलले स्विडेनलाई ५–२ ले हराउँदै पेलेले दुई गोल गरे ।
त्यसमध्येको एक गोलले विश्वभर चर्चा कमायो । पेलेले गरेको उक्त गोलको अहिलेसम्म पनि चर्चा हुनेगर्छ ।
पेनाल्टी क्षेत्रमा स्वीडेनका रक्षकसँगै रहेका पेलेले मिडफिल्डबाट आएको लामो पासलाई उफ्रिएर छातीले नियन्त्रणमा लिएका थिए ।
पेलेको केही अगाडी स्विडेनका अर्का रक्षक पनि थिए । उनले पेलेलाई रोक्न खोजेका थिए । त्यतिबेला बल आकाशियो ।
झन्डै ३.२ मिटरको उचाईमा पुगेर खसेको बललाई पेपेले भलीमार्फत पोष्टको दिशा थिए । ५५औंँ मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका पेलेले अन्तिम मिनेटमा अर्को गोल थपेका थिए ।
यस प्रतियोगितामा पेलेले उत्कृष्ट युवा खेलाडीको अवार्ड हात पारे । ब्राजिलले पहिलोपटक उपाधि जित्न सफल भयो । यस विश्वकपसँगै पेलेको उदय भएको थियो ।
जसलाई अहिलेसम्म सर्वकालिन महान खेलाडीका रुपमा परिचित छन् । पेलेमात्र होइन, उक्त विश्वकपमा फ्रान्सका जस्ट फोन्टेनले १३ गोल गरे । जसलाई अहिलेसम्म कसैले तोड्न सकेका छैनन् ।
यस विश्वकपसम्म वैकल्पिक खेलाडीको व्यवस्था थिएन । कुनै टिममा खेलाडी घाइते भएमा उक्त टिमले एक खेलाडी गुमाउने थियो ।
३५ खेल भएको यस विश्वकपमा १२६ गोल भएका थिए । फ्रान्सले पश्चिम जर्मनीलाई ६–३ ले हराउँदै तेस्रो स्थान हासिल गर्यो ।