site stats
विश्वकपमा रोनाल्डोले कीर्तिमान बनाउँदा घानाविरुद्ध पोर्चुगलको रोमाञ्चक जित
विश्वकपमा रोनाल्डोले कीर्तिमान बनाउँदा घानाविरुद्ध पोर्चुगलको रोमाञ्चक जित

काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएको खेलमा बिहीबार पोर्चुगलले घानामाथि ३–२ को रोमाञ्चक जित निकाल्दै कतारमा जारी फिफा विश्वकपमा सुखद सुरुआत गरेको छ ।

कतारको रंगशाला ९७४ मा भएको खेलमा एक गोल गरेका रोनाल्डोले उक्त गोलसँगै विश्वकपको फरक पाँच संस्करणमा गोल गर्ने एकमात्र खेलाडीको कीर्तिमान बनाए ।

पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो, जाओ फिलिक्स र रफाइल लियोले एक–एक गोल गरे । घानाका एन्ड्री अयेउ र ओस्मान बुकारीले गोल फर्काएका थिए ।

portugal vs ghana 31669314039.JPG

खेलको ६३औँ मिनेटमा घानाका मोहम्मद सालिसुले रोनाल्डोमाथि १८ यार्ड बक्सभित्र फाउल गरेपछि पोर्चुगलले पेनाल्टीको अवसर पाएको थियो । जसमा रोनाल्डोले कुनै गल्ती गरेनन् । यो गोलसँगै रोनाल्डो विश्वकपको पाँच फरक संस्करणमा गोल गर्ने एकमात्र खेलाडी बने ।

सन् २००६ मा पहिलो विश्वकप खेलेका रोनाल्डोले त्यसयताका सबै संस्करणमा गोल गरेका छन् । उनले २००६, २०१० र २०१४ मा समान एक गोल गर्दा २०१८ को संस्करणमा भने चार गोल गरेका थिए ।

रोनाल्डोको गोलबाट पोर्चुगलले अग्रता बनाए पनि ७३औँ मिनेटमा अयेउले गोल गर्दै घानालाई खेलमा फर्काएका थिए ।

portugal vs ghana 21669314040.JPG

त्यसको पाँच मिनेटपछि फिलिक्सको गोलमा पोर्चुगलले पुनः खेलमा अग्रता बनाएको थियो । ८०औँ मिनेटमा लियोको गोलमा पोर्चुगलले अग्रतालाई ३–१ को अवस्थामा पुर्‍याए । 

तर, खेलको ८९औँ मिनेटमा घानाका बुकारीले गोल गर्दै अग्रतालाई ३–२ मा झारेपछि खेल रोमाञ्चक बनेको थियो ।

जितसँगै तीन अंक जोडेको पोर्चुगल समूह ‘एच’को शीर्ष स्थानमा उक्लिएको छ । समूहमा समान एक अंक जोडेका दक्षिण कोरिया र उरुग्वे क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । यस्तै, अंकविहीन घाना भने तालिकाको पुछारमा पुगेको छ ।

प्रकाशित मिति:शुक्रबार, मंसिर ९, २०७९  ००:०७
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल