site stats
विश्वकपमा स्पेनको कीर्तिमानी जित
विश्वकपमा स्पेनको कीर्तिमानी जित

 काठमाडौं । फिफा विश्वकपमा स्पेनले बुधबार विश्वकप इतिहासमा आफ्नो सबैभन्दा ठूलो जित निकालेको छ । स्पेनले समूह 'ई' को खेलमा बुधबार कोस्टा रिकामाथि ७-० को फराकिलो जित निकाल्यो ।

याे स्पेनले विश्वकपमा निकालेको हालसम्मकै फराकिलो जित हो । यसअघि सन् १९९८ को विश्वकपमा बुल्गेरियामाथि ६-१ को जित विश्वकपमा स्पेनको सबैभन्दा फराकिलो जित थियो । 

20221123_2357361669227652.jpg

कतारको अल थुमामा रंगशालामा सम्पन्न खेलमा स्पेनका फेरान टोरेसले दुई गोल गर्दा ड्यानी ओल्मो, मार्को असेन्सिओ, गाभी, कार्लोस सोलेर र अल्भारो मोराटाले  एक-एक गोल गरे । 

खेलको ११औँ मिनेटमा पेड्रीले सिर्जना गरेको मौकालाई सदुपयोग गर्दै ओल्मोले स्पेनलाई अग्रता दिलाएका थिए । 

२१ औँ मिनेटमा असेन्सिओले स्पेनको अग्रता दोब्बर पारे । जोर्डी अल्बाले गरेको क्रसमा पेनाल्टी बक्समा रहेका असेन्सिओको 'लेफ्ट फुटेड' प्रहारले जाली चुम्यो । 

FB_IMG_16692271094241669227652.jpg

यस्तै, ३१औँ मिनेटमा टोरेसले गोल गर्दै स्पेनको अग्रतालाई ३-० मा पुर्‍याए । कोस्टा रिकाका ओस्कार डुएर्टेले १८ यार्ड बक्सभित्र जोर्डी अल्बामाथि फाउल गरेपछि स्पेनले सोझै पेनाल्टी पाएको थियो । जसमा टोरेसले कुनै गल्ती गरेनन् ।

पहिलो हाफमा ३-० को अग्रता बनाएको स्पेनले दोस्रो हाफमा चार गोल थप्यो । स्पेनले विश्वकपको इतिहासमा पहिलो हाफमै ३-० को अग्रता बनाएको यो दोस्रोपटक हो । यसअघि स्पेनले सन् १९३४ को संस्करणमा ब्राजिलविरुद्ध पहिलो हाफमा ३-० को अग्रता बनाएको थियो ।

20221123_2357321669227644.jpg

टोरेसले ५४औँ मिनेटमा गोल गर्दै स्पेनलाई ४-० को अवस्थामा पुर्‍याए । यस्तै, गाभीले ७५औँ मिनेटमा गोल गर्दै स्पेनको अग्रतालाई ५-० मा पुर्‍याए । 

यो गोलसँगै गाभी विश्वकपमा गोल गर्ने स्पेनका सबैभन्दा कान्छा खेलाडी बने । गाभीले १८ वर्ष ११० दिनको उमेरमा विश्वकपमा गोल गरे । स्पेनका लागि सोलरले ९० औं मिनेटमा छैटौं र मोराटाले इन्जुरी टाईममा सातौं गोल गरे । 

विश्वकपको समूह 'ई' मा स्पेन र कोस्टा रिकासँगै जर्मनी र जापान छन् । जितसँगै तीन अंक जोडेको स्पेन समूहको शीर्ष  स्थानमा उक्लिएको छ । हारसँगै कोस्टा रिका समूहको पुछारमा पुगेको छ । तीन नै अंक जोडेको जापान दोस्रो र अंकविहीन जर्मनी तेस्रो स्थानम छ । 

प्रकाशित मिति:बिहीबार, मंसिर ८, २०७९  ००:०७
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल