
काठमाडौं । अन्तिम १५ मिनेटमा सम्हालिन नसक्दा फिफा विश्वकप समूह 'ई' को खेलमा बुधबार जर्मनी जापानसँग २-१ ले स्तब्ध बनेको छ ।
कतारको खलिफा रंगशालामा सम्पन्न खेलमा जापानलाई जित दिलाउन रित्सु डोआन र टकुमा असामोले गोल गरे । यद्यपि खेलमा इल्काई गुन्डोगानले गरेको गोलबाट जर्मनीले अग्रता बनाएको थियो ।
खेलको पहिलो हाफको अधिकांश समय बलमा पकड बनाएको जर्मनीले ३३ औँ मिनेटमा इल्काई गुन्डोगानले पेनाल्टीमा गरेको गोलबाट अग्रता बनाएको थियो ।
३१औँ मिनेटमा जापानका सुइची गोन्डाले १८ यार्ड बक्सभित्र डेभिड राउममाथि फाउल गरेपछि जर्मनीले पेनाल्टी पाएको थियो । जसलाई सदुपयोग गर्दै गुन्डोगानले ३३औँ मिनेटमा जर्मनीलाई अग्रता दिलाएका थिए ।
६०औँ मिनेटमा गुन्डोगानले पेनाल्टी बक्सबाट गरेको प्रहार पोस्टमा लागेर बाहिरिएपछि जर्मनीले अग्रता दोब्बर बनाउन सकेन ।
७५औँ मिनेटमा रित्सु डोआन गोल गर्दै जापानलाई बराबरीमा फर्काएका थिए । दोस्रो हाफमा मैदान प्रवेश गरेका डोआनले मैदान प्रवेश गरेको ४ मिनेट ९ सेकेन्डमा नै गोल गर्दै जापानलाई खेलमा फर्काएका थिए ।
यस्तै ८३ औँ मिनेटमा टकुमा असामोले गरेको गोल निर्णायक बनेपछि जापानले २-१ को पुनरागमन जित निश्चित गर्याे ।
जितसँगै तीन अंक जोडेको जापान समूह 'ई' को शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमै हार बेहोरेको जर्मनी तालिकाको पुछारमा झरेको छ ।
यो समूहमा जर्मनी र जापानसँगै स्पेन र कोस्टा रिका छन् । समूहबाट शीर्ष दुई टिम अन्तिम-१६ मा प्रवेश गर्नेछन् ।