
काठमाडौं । फिफा विश्वकपअन्तर्गत बुधबार समूह ‘एफ’को खेलमा साविक उपविजेता क्रोएसिया मोरोक्कोसँग गोलरहित बराबरीमा रोकिएको छ ।
कतारको अल बायत रंगशालामा सम्पन्न खेलमा क्रोएसियाले प्राप्त मौकालाई सदुपयोग गर्न नसक्दा अंक बाड्न बाध्य बन्यो ।
बराबरीसँगै समूह ‘एफ’ मा दुवै टिमले समान एक–एक अंक जोडेका छन् । यो समूहमा क्रोएसिया र मोरोक्कोसँगै बेल्जियम र क्यानडा छन् । समूहको शीर्ष दुई स्थानमा रहने टिमले अन्तिम–१६ मा स्थान बनाउने छन् ।
विश्वकपमा आज चार खेल हुने तालिकाअनुसार दोस्रो खेलमा साझ ६ः४५ बजे समूह ‘ई’ को जर्मनीले जापानविरुद्ध खेल्दै छ । यो खेल कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ ।
राति ९ः४५ बजेदेखि अल थुमामा रंगशालामा सुरु हुने आजको तेस्रो खेलमा समूह ‘ई’ मा रहेको स्पेनले कोस्टारिकाविरुद्ध खेल्दै छ ।
यस्तै, राति १२ः४५ बजे बेल्जियमलाई क्यानडाले चुनौती प्रस्तुत गर्दै छ । यो खेल अहमेद बिन अली रंगशालामा हुनेछ ।