
काठमाडौं । फिफा विश्वकपमा मंगलबार समूह 'डी' को खेलमा डेनमार्कले गोलरहित बराबरी खेल्दै ट्युनिसियासँग अंक बाँडेको छ ।
कतारको एजुकेसन सिटी रंगशालामा सम्पन्न खेलमा दुवै टिमले गोलका केही अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न सकेनन् । खेलको पहिलो हाफमा चार मिनेट र दोस्रो हाफमा पाँच मिनेट इन्जुरी टाइम थपिएको थियो ।
बराबरीसँग दुवै टिमले एक/एक अंक बाँडेका छन् ।
यो समूहमा डेनमार्क र ट्युनिसियासँगै साविक विजेता फ्रान्स र अस्ट्रेलिया छन् । समूहबाट शीर्ष स्थानमा रहने दुई टिमले अन्तिम–१६ मा स्थान बनाउने छन् ।
आजै हुने तेस्रो खेलमा समूह 'सी' का मेक्सिको र पोल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । यस्तै, दिनको अन्तिम खेलमा आज राति १२:४५ बजे समूह 'डी' कै फ्रान्स र अस्ट्रेलिया भिड्नेछन् ।
यसअघि आजको पहिलो खेलमा समूह 'सी' को अर्जेन्टिनालाई साउदी अरेबियाले २–१ ले पराजित गरेको थियो ।