
काठमाडौं । कतार विश्वकपको दोस्रो दिनमात्र चलिरहँदा भएका चार खेल खेलमा ६५ मिनेट इन्जुरी समय थपिएका छन् । जसमध्ये सोमबार भएको इंग्ल्यान्ड र इरानबीचको खेल ११७ मिनेट १६ सेकेन्डसम्म चलेको थियो ।
यो खेलको सुरुआतमै इरानका गोलकिपर अलिरेजा बेइरानभान्डको टाउकोमा चोट लागेपछि खेल लामो समय रोकिएको थियो । तर, खेल लामो हुनुमा यो एकमात्र कारण थिएन । अहिले फिफाले पनि खेल रोकिएको समयको मात्रालाई अझ सटिक रुपमा अनुगमन गरेर खेर गएको समयलाई रोक्न सही समय थप्ने गरेको छ ।
खेलका दौरान हुने इन्जुरीहरु, भिडियो असिस्टेन्ट रेफ्री (भार) प्रयोग गर्दा लाग्ने समय, सब्सिच्युसन, पेनाल्टी, रेड कार्डबाट खेर जाने समय बाहेक कहिलेकाँही खेलाडीहरुले जानीजानी समय खेर फाल्न अनावश्यक क्रियाकलापहरु पनि गर्ने गर्दछन् ।
फिफाका रेफ्री कमिटीका प्रमुख पिएरलुइजी कोलिनाले पछिल्लो हप्ता चौथो अफिसियलहरुलाई कडा रुपमा खेलमा खेर गएको समयको लेखाजोखा राख्न निर्देशन दिएको बताएका थिए । जसलाई रुसमा पनि कहिलेकाँही प्रयोग गरिएको थियो ।
“रुसमा पनि हामीले खेर गएको सही समय थप्ने प्रयास गरेका थियौं । त्यसैकारण त्यहाँ ६, सात वा आठ मिनेटसम्मको इन्जुरी टाइम थपिएको हामीले देखेका थियौं,” रेफ्री प्रमुख कोलिनाले भने, “यदी कुनै टिमले पहिलो हाफमा तीन गोल गर्छन् भने त्यहाँ खुसीयाली मनाउँदा करिब चार वा पाँच मिनेटसम्मको समय खेर गएको हुन्छ ।”
फुटबलमा स्थापित भएको यो नयाँ प्रयोगले विभिन्न खाले कीर्तिमानहरु भंग गरेको छ ।
ओप्टाका अनुसार सन् १९६६ देखि रेकर्ड राख्न सुरु भएयता सबैभन्दा धेरै इन्जुरी टाइम चार हाफहरु सोमबारकै थिए । जहाँ इंग्ल्यान्ड र इरानबीचको पहिलो हाफको इन्जुरी टाइम १४ः०८ सेकेन्डको थियो । सोही खेलको दोस्रो हाफको इन्जुरी टाइम १३ः०८ सेकेन्डको थियो ।
यस्तै, सोमबारै भएको अमेरिका र वेल्सबीचको दोस्रो हाफको इन्जुरी टाइम १०ः३४ सेकेन्डसम्म चल्दा सेनेगल र नेदरल्यान्ड्सबीचको दोस्रो हाफको इन्जुरी टाइम १०ः०३ सेकेन्ड लामो थियो ।
यीमध्ये अधिकांश खेलको अन्तिम समयमा भएका गोलका कारण इन्जुरी समय लामो हुन पुगेको थियो ।
इंग्ल्यान्डविरुद्ध इरानका मेहदी टरेमीले खेलको १०२ मिनेटमा गोल गरेका थिए । यो विश्वकपको इतिहासमा इन्जुरी टाइममा भएको सबैभन्दा ढिलो गोलसमेत बन्यो । नेदरल्यान्ड्सका ड्याभी क्लासेनले सेनेगलविरुद्ध ९८ मिनेट १७ सेकेन्डमा गरेको गोल यो कीर्तिमानको दोस्रो स्थानमा छ ।
यी घटना हाल सामाजिक सञ्जालमा बहसको विषय बनेका छन् । जसमा केहीले फिफाले खेलमा खेर गएको सही समय हिसाब गरेर राम्रो गरेको बताइरहँदा कोही भने अनावस्यक समय थपेको भन्दै यसको आलोचनामा उत्रिएका छन् ।