
काठमाडौं । कतार विश्वकपमा वर्तमान समयका दुई महान फुटबलर मैदानमा उत्रदैँछन् । ती हुन् लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो ।
संयोग, दुवै खेलाडीले आफ्नो देशका लागि विश्वकपको उपाधि उचाल्न सकेका छैनन् । सन्न्यासपछि पनि मेसी वा रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने बहस जारी नै रहनेछ ।
कतार विश्वकप ३५ वर्षे मेसी तथा ३७ वर्षे रोनाल्डोका लागि अन्तर्राष्ट्रिय फुटबलको सबैभन्दा ठूलो अन्तिम मौका हुनसक्छ ।
यसपटक अर्जेन्टिना विश्वकप जित्ने एक बलियो टोली भएको धेरै फुटबल विज्ञहरुको विश्लेषण छ । जसले मेसीको करियरमा कमी रहेको विश्वकपको उपाधि दिलाउन सक्छ ।
सन् २०१४ को विश्वकपमा अर्जेन्टिना फाइनलमा जर्मनीसँग पराजित हुँदा पनि अर्जेन्टिनाको खेल मेसीको वरपर घुमेको थियो । तर अहिले उत्कृष्ट रक्षापंक्ति र मिडफिल्ड भएका कारण अर्जेन्टिनाले विश्वकप जित्ने सम्भावना बलियो रहेको मानिएको छ ।
तथापी अर्जेन्टिनालाई समूह चरणपछिको यात्रा सहज भने हुनेछैन । रोनाल्डोका लागि अवस्था भने फरक छ । पोर्चुगललाई अर्जेन्टिनाजत्तिको बलियो मानिएको छैन ।
टिममा राम्रा खेलाडी भए पनि पोर्चुगलले छनोट प्रतियोगितामा प्ले–अफ खेलेर विश्वकपमा स्थान बनाएको थियो ।
कतारमा रोनाल्डो र मेसीको टिमले जस्तो नतिजा निकाले पनि उनीहरूको चर्चा भने चलिरहने छ । तथापी दुबैका लागि विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा चम्कने अन्तिम मौका हुन सक्छ ।
यसपटक बालोन डी‘अर अवार्ड जित्न सफल फ्रान्सका करिम बेन्जेमाका लागि पनि यो विश्वकप अन्तिम थियो ।
तर, उनले चोटका कारण विश्वकप गुमाउने भएका छन् । फ्रान्सले २०१८ को विश्वकप जिते पनि बेन्जेमा त्यो टिममा थिएनन् । यसकारण, उनको राष्ट्रले विश्वकपको उपाधि चुमे पनि खेलाडीका रुपमा उनले मैदानमा त्यसलाई अनुभव गर्न पाएनन् ।
उनीहरू जस्तै अन्य चर्चित खेलाडीहरूका लागि पनि कतार विश्वकप अन्तिम हुनेछ ।
नेइमार :
३० वर्षीय ब्राजिलियन स्ट्राइकर नेयमारका लागि यो तेस्रो विश्वकप हुनेछ । उनले हालसम्म विश्वकपमा १० खेल खेल्दै ६ गोल गरिसकेका छन् ।
नेयमार ब्राजिलका मुख्य खेलाडी मानिन्छन् र उनले अझै पनि सन् २०१४ को पीडा भुल्न सकेका छैनन् होला किनभने क्वार्टरफाइनलमा घाइते भएपछि उनको विश्वकपको यात्रा टुंगिएको थियो ।
नेइमार आफैले पनि कतार आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् ।
नेयमारलाई थाहा छ यसपटक यदि उनले राम्रो प्रदर्शन गर्न सकेनन् भने भिनिसियस जुनियर, राफिन्हा, एन्टोनियो अथवा रिचार्लिसनले उनलाई विस्थापित गर्नेछन् ।
त्यसैले यस वर्षको विश्वकप कतिपय खेलाडीका लागि इतिहासमा नाम लेखाउने तथा कतिपयका लागि यसअघिका विश्वकपमा भोगेको निराशालाई मेटाउन कतार उत्कृष्ट स्थल हुन सक्छ ।
रोवर्ट लेवानडोवस्की :
पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीको यो दोस्रो विश्वकप हो । ३४ वर्ष वर्षीय लेवान्डोवस्कीको सम्भवतः यो अन्तिम विश्वकप हो ।
२०१८ को विश्वकप खेले पनि लेवान्डोवस्कीले विश्वकपमा हालसम्म गोल भने गर्न सकेका छैन । यसैकारण यो वर्ष विश्वकपमा उत्कृष्ट गर्नु उनको लक्ष्य बनेको छ ।
जर्मन क्लब बायर्न म्युनिखबाट विश्व फुटबलमा उत्कृष्ट स्ट्राइकरको पहिचान बनाएका लेवान्डोवस्की हाल स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्छन् ।
राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा खास चर्चा कमाउन नसकेपनि उनको व्यवसायिक करियरले भने ठूलो सफलता चुमिसकेको छ ।
उनले सन् २०२० मा फिफा र युइएफएको वर्ष खेलाडी चुनिएका थिए । यसबाहेक उनले थुप्रै व्यक्तिगत उपलब्धिका अवार्ड जितेका छन् ।
लुका मोड्रिच :
सन् २००६, २०१४ र २०१८ को विश्वकप खेलेका ३७ वर्षीय क्रोयसियन मिडफिल्डर मोड्रिचले विश्वकपमा १२ खेल खेल्दै २ गोल समेत गरेका छन् ।
रोमियोका अनुसार मोड्रिच क्रोयसियाले पाएको सबैभन्दा उत्कृष्ट खेलाडी पाएको हो ।
रोमियोको विश्वास के छ भने मोड्रिचको उमेर बढी भएपनि उनी शारीरिक रुपमा सन् २०१८ झै बलिया तथा लामो समय मैदानमा टिक्न सक्ने खेलाडी हुन् ।
लुइज सुआरेज :
लगातार तीनवटा विश्वकप खेलिसकेका ३५ वर्षीय उरुग्वेका स्ट्राइकर सुआरेजले १२ खेलमा ७ गोल गरिसकेका छन् ।
तर उनी विवाद र चर्चामा आइरहने खेलाडीको रुपमा बढी चिनिन्छन् ।
रोमियोका अनुसार सुआरेजले भने अर्जेन्टिनाका लागि खेल्दा खराब पाटोलाई छाँयामा पारेका छन् ।
विश्वकप छनोट अन्तर्गत उनी सर्वाधिक गोलकर्ता खेलाडीहरुमध्ये एक थिए । उनी अझै पनि विश्वकै एक उत्कृष्ट स्ट्राइकर हुन् ।
म्यानुयल नुयर :
२०१४ को विश्वकप फाइनलमा अर्जेन्टिनालाई १–० हराउँदै समग्रमा चौथो पटक विश्वकपको उपाधि जित्दा म्यानुयल नुयरले नै जर्मनीको कप्तानी सम्हालेका थिए ।
सन् २०१० देखि विश्वकप खेल्दै आएका नुयरको यो चौथो विश्वकप हो ।
३६ वर्षीय नुयरलाई अझै पनि युरोपको उत्कृष्ट गोलकिपरमध्येमा गनिन्छन् । २०१४ को विश्वकपका नुयरले ‘गोल्डेन ग्लभ्स’ जितेका थिए । यसपटक पनि जर्मनी नुयरकै नेतृत्वमा विश्वकप खेल्दैछ । र यो नै उनको अन्तिम विश्वकप बन्न सक्छ ।
थोमस मुलर :
राष्ट्रिय टिमबाट ११८ खेल खेल्दा ४४ गोल गरेका थोमस मुलरलाई विश्व फुटबलका चतुर मिडफिल्डर मानिन्छ ।
बलमा नियन्त्रणसँगै गोल गर्न पनि माहिर मुलर ३३ वर्ष भइसकेका छन् ।
र, कतार विश्वकप नै उनको अन्तिम विश्वकप बन्न सक्छ । राष्ट्रिय टिमबाट विश्वकपको उपाधि जितिसकेका उनले बायर्न म्युनिखबाट आफ्नो व्यवसायिक करियरलाई उत्कृष्ट बनाइसकेका छन् । उनी यो विश्वकपमा पनि जर्मनीका महत्वपूर्ण खेलाडी हुन् ।
गारेथ बेल :
सन् १९५८ पछि पहिलो पटक विश्वकप खेलिरहेको वेल्सका लागि फरवार्ड गारेथ बेल महत्वपूर्ण खेलाडी हुन् ।
र ३३ वर्षीय बेलको यो नै पहिलो र अन्तिम विश्वकप बन्न सक्छ ।
व्यावसायिक करियरमा यिाल मड्रिडबाट सबैखाले उपाधि जितेका बेल २०२६ को विश्वकपसम्म ३७ वर्ष पुग्नेछन् । यस्तोमा वेल्सले लगातार दोस्रो पटक विश्वकप खेल्ने सम्भावना बारेपनि अर्को प्रश्न पनि छ ।
ड्यानियल आल्भेस :
सन् २०१९ को कोपा अमेरिका र २०२० को समर ओलम्पिकमा ब्राजिलले स्वर्ण पदक जित्दा आल्भेस टिमका महत्वपूर्ण सदस्य थिए ।
तीन वर्षअघि ब्राजिलले कोपा अमेरिकाको उपाधि जित्दा आल्भेस प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।
३९ वर्षीय आल्भेस कतार विश्वकपमा पनि ब्राजिलको टिममा छन् ।
२०१० र २०१४ को विश्वकप खेलेका आल्भेस चोटका कारण २०१८ को विश्वकपका लागि घोषित ब्राजिलको टिममा परेनन् ।
कतारमा तेस्रो पटक विश्वकप खेल्दै गर्दा आल्भेसको यो नै अन्तिम विश्वकप बन्ने पक्का छ ।