
काठमाडौं । फिफा विश्वकपमा आज (सोमबार)को तेस्रो खेलमा समूह ‘बी’ का वेल्स र अमेरिकाबीच प्रतिस्पर्धा हुँदै छ । कतारको अल रायन रंगशालामा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।
वेल्स र अमेरिकाबीचको खेलमा प्रभाव पार्न सक्ने दुवै टिमका एक–एक खेलाडी :
गारेथ बेल (फरवार्ड, वेल्स) : स्पेनिस क्लब रियाल मड्रिडबाट विश्व फुटबलमा स्थापित भएका वेल्सका कप्तान ३३ वर्षीय गारेथ बेलको सम्भवतः यो पहिलो र अन्तिम विश्वकप हो । यसैकारण पनि उनी विश्वकपको यो संस्करणमा आफ्नो प्रभाव छोड्न चाहन्छन् ।
वेल्सले ६४ वर्षपछि विश्वकप खेल्दै गर्दा उनी प्रशिक्षक रोब पेजका महत्वपूर्ण खेलाडी बनेका छन् । सन् २००६ मा वेल्सको राष्ट्रिय टिमबाट ‘डेब्यू’ गरेका बेलले १०८ अन्तर्राष्ट्रिय खेलमा ४० गोल गरिसकेका छन् ।
क्रिस्टियन पुलिसिच (अट्याकिंग मिडफिल्डर, अमेरिका) : बोरुसिया डर्टमन्डबाट युरोपियन फुटबलमा आफ्नो पहिचान बनाएका क्रिस्टियन पुलिसिच आज वेल्सविरुद्ध अमेरिकाका महत्वपूर्ण खेलाडी हुन् । चेल्सीका स्थायी खेलाडी पुलिसिच लोनमा डर्टमन्डबाट खेल्छन् ।
मैदानको मध्य भागमा बल नियन्त्रण गर्न र आक्रमण बुन्न पनि उत्तिकै पोख्त पुलिसिच प्रशिक्षक ग्रेग बेरहाल्टरको प्रमुख रोजाइ पनि हुन् । सन् २०१६ मा अमेरिकाको राष्ट्रिय टिमबाट ‘डेब्यू’ गरेका उनले ५२ खेलमा २१ गोल गरिसकेका छन् ।