site stats
कतारको अभ्यस्त वातावरणमा अरब टिमलाई मौका
कतारको अभ्यस्त वातावरणमा अरब टिमलाई मौका

 काठमाडौं । रुस विश्वकपमा निरासाजन प्रदर्शन गरेका अरबका राष्ट्रहरूले यसपटक धेरै अभ्यस्त भइसकेको मैदानमा खेल्दा कतार विश्वकपमा उत्कृष्ट नतिजा ल्याउने राम्रो मौका पाएका छन् ।

सन् २०१८ को विश्वकपमा छनोट भएका चार अरब देशमध्ये कुनै पनि टिमले विश्वकपको समूह चरण पार गर्न सकेनन् । 

त्यहाँ साउदी र ट्युनिसियाले समान एक खेलमा मात्र जित निकालेका थिए । अरबबाट मोरोक्कोसमेत गरी यसपटक पनि २०१८ को जत्ति नै विश्वकपमा चार टिम छनोट भएका छन् । 

ट्युनिसिया र साउदी अरेबियाले लगातार दोस्रो पटक विश्वकपमा स्थान बनाउँदा कतार आयोजकको रुपमा खेल्दैछ ।
कतारले विश्वकपको पहिलो दिन नोभेम्बर २० मा इक्वेडरविरुद्ध उद्घाटन खेल खेल्दैछ । 

जुन विश्वकपको इतिहासमा कतारले खेलेको पहिलो खेलको रुपमा विश्वभर फैलिनेछ ।  यसको दुई दिनपछि साउदीले लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

tunisia121668742458.JPG

दबाबरहित

“टिममा रहेका सबैजनाले दोस्रो चरण पुग्ने लक्ष्य बनाएका छन् । पक्कै पनि समूहका टिममध्ये केहीले विश्वकप जित्ने लक्ष्य पनि बनाएका छन् । तर, हाम्रा लागि हामीले पहिलो खेल अर्जेन्टिनाविरुद्ध ध्यान केन्द्रित गर्न आवश्यक छ,” साउदी अरेबियाका प्रशिक्षक हार्भ रेनार्डले भने, “यो हाम्रा लागि कठिन चुनौती हुनेछ, तर हामी यसको सामनाका लागि तयार रहनै पर्छ ।”

विश्वकपको इतिहासमा अरब टिमले हालसम्म तीन पटकमात्र प्री–क्वार्टरफाइनल खेलेका छन् ।  मोरक्को सन् १९८६ को विश्वकपमा प्रि–क्वार्टरफाइनल पुगेको थियो । 

जुन अफ्रिकी महादेशबाट कुनै टिम अन्तिम १६ सम्म पुगेको पहिलोपटक समेत थियो ।  यस्तै, १९९४ मा साउदी अरेबिया र २०१० मा अल्जेरिया पहिलो पटक प्रि–क्वार्टरफाइनल पुगेका थिए ।

कतारमा विश्वकपको २२औं संस्करण चल्दै गर्दा अहिलेसम्म अरबका आठ टिमले विश्वकप खेलेका छन् ।  १९३४ को दोस्रो विश्वकपका लागि छनोट भएको इजिप्ट विश्वकप खेल्ने पहिलो अरब राष्ट्र हो ।

अरबी टिमको आकांक्षा

मध्यपूर्वमा आयोजना भएको यो पहिलो विश्वकप हो । १९९४ मा साउदी अरेबियाले पहिलो पटक विश्वकप खेलेयता अहिलेसम्म कुनै पनि अरब मुलुकले विश्वकपमा ‘डेब्यु’ गर्न सकेनन थिएनन् । 

अरब मुलुकबाट स्रोतको धनि कतारले यसपटक आयोजकको रुपमा विश्वकपमा ‘डेब्यु’ गर्दैछ । 

तर, विश्वकपका लागि प्रतिस्पर्धात्मक टिम बनाउन कतारले आर्थिक रुपमा ठूलो लगानी गर्दै लामो समयदेखि गृहकार्य सुरु गरेको थियो । 

उनीहरुले ‘एस्पायर एकेडेमी’बाट यसको परिपूर्ति गरेको थियो । जहाँ कतारी युवालाई तयार गर्न विदेशी निर्देशक र प्रशिक्षकहरु नियुक्त गरिएका थिए । 

saudi1668742457.jpg

एकेडेमीमा कतारले एकपटक अफ्रिकाका युवाहरुलाई समेत प्रशिक्षण दिन सुरु गरेको थियो ।  तर, पछि फिफाले बाहिरी देशका युवाको हकमा लागू नियमलाई केही कडा बनाएको थियो ।

कतारले यो मिहिनेतको फल पनि पायो । सन् २०१९ को एसिया कपको उपाधि कतारले जित्यो । 

प्रतियोगितामा उपाधिका लागि प्रवल दाबेदार मानिएको जापानलाई ३–१ ले पराजित गर्दै कतारले फुटबलमा पहिलो मुख्य उपाधि जित्यो ।

एस्पायरका अनुसार एसिया कप जित्ने कतारी टिमको ७० प्रतिशत विकास यहीबाट भएको हो ।  जसमा प्रतियोगिताकै उच्च गोलकर्ता बनेका अल्मोइज अली पनि समावेश थिए ।

 

प्रभाव

कतार विश्वकपका अरबका टिमहरु बलिया छन् वा छैनन् तर पर्सियल खाडीका राष्ट्रहरुलाई पक्कै पनि सकारात्मक प्रभाव भने गर्नेछ । 

“हामीले अन्ततः फुटबलको विश्वव्यापी अपिललाई पहिचान गर्न थालिसकेका छौं । अब यो कुनै एक क्षेत्र, देश वा एक फुटबल संघको एक सानो समूहमामात्र समेटिएको छैन । वास्तवमा यो यस्तो चिज हो, जसमा विश्वभरका मानिसहरुले अझ धेरै लगानी गर्न थालेका छन्,” कतारस्थित जर्जटाउन विश्वविद्यालयका सहप्राध्यापक अब्दुल्लाह अल–अरियनले भने । 

युरोपका केही शीर्ष क्लबहरु म्यानचेस्टर सिटी (अबु धाबी), पेरिस सेन्ट जर्मन (पीएसजी) र न्युक्यसल (साउदी अरेबिया) पनि खाडी मुलुकका स्वामित्वमा छन् । 

रोजगारका लागि आएका आप्रवासी कामदारहरुप्रति गरेको व्यवहारबारे प्रश्न उठिरहे पनि कतारले विश्वकप आयोजनाका लागि अरबौं डलर खर्च गरेको छ ।

साउदी देशको राजकीय सार्वभौम सम्पत्ति कोषकोमार्फत विभिन्न खेलमा लगानी गर्छ । जसलाई आलोचकहरु देशको कमजोर मानवअधिकार स्थितीलाई लुकाउने माध्यम भएको बताउँछन् ।

मैदानमा अरब टिम

अल्जेरियाले सन् १९८२ मा विश्वकपमा ‘डेब्यु’ गर्दा अप्रत्यासित रुपमा पश्चिम जर्मनीलाई २–१ ले हराएको थियो । 

तर, त्यसको चार दिनपछि जर्मनीले अस्ट्रियालाई १–० ले हराएपछि अल्जेरिया प्रतियोगितामा अघि बढ्न सकेको थिएन । 

अस्ट्रिया र जर्मनीको यो विवादास्पद खेललाई ‘डिस्ग्रेस अफ गिजोन’को नामले पनि चिनिन्छ । साउदी अझै पनि बेल्जियमलाई १–० ले हराउँदा सैद अल ओवाइरानको डियागो म्याराडोनाको जस्तै व्यक्तिगत प्रयासमा गरेको गोलको बारेमा चर्चा गर्ने गर्छ । 

आजकल घरेलु स्तरमा पनि प्रशिक्षकहरु युरोपका सफल रणनीति अपनाउँने प्रयास गर्छन् ।

एसियाली फुटबल महासंघका प्राविधिक निर्देशक एन्डी रोक्सबर्घ ‘हाइ प्रेसिङ गेम’ आजकल एसियामा पनि निकै चर्चित हुँदै गइरहेको बताउँछन् ।

moracco121668742457.JPG

“अल हिलालले देखाइरहेको हाई प्रेसिङ खेल पश्चिम एसिया र एसियन फुटबलमा ठूलो क्षेत्रमा निकै कम देखिन्छ । हामी अहिले विस्तारै हाई प्रेसिङलाई अपनाउँने टिम बढिरहेको देख्न सक्छौं,” साउदीको शीर्ष क्लबलाई इंगित गर्दै रोक्सबर्घले भने ।

साउदी र कतारी प्रशिक्षकहरु आफ्ना सबै खेलाडी घरेलु लिगबाट आएकाले टिममा एकबद्द हुने कुरालाई एक महत्वपूर्ण फाइदा मान्छन् ।

कतारका धेरै खेलाडी जुनदेखि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा छन् । “विश्वकपका लागि हामीले ५–६ महिनाको बन्द प्रशिक्षण गर्न पाएको हामी निकै सन्तुष्ट छौं,” कतारी फुटबल संघका फिटनेस प्रमुख रहेका अल्बर्टो मेन्डेज–भिलानुएभाले भने, “तर, रियाल मड्रिड, बार्सिलोना, म्यानचेस्टर, चेल्सीजस्ता क्लबबाट खेलिरहेका खेलाडी पाउँनु एक फाइदा हो । तर, मलाई यी दुईमध्ये कुन चाँही सही हो भन्नेबारे भने केही ज्ञान छैन ।”

प्रकाशित मिति:शुक्रबार, मंसिर २, २०७९  ०९:२१
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल