
काठमाडौं । जर्मनीका प्रशिक्षक हान्सी फ्लिकले कतार विश्वकपको आफ्नो पहिलो खेलमा रक्षक एन्टोनियो रुडिगर र आक्रमक मिडफिल्डर थोमस मुलर फिट हुने बताएका छन् । जर्मनीले समूह ‘ई’मा पहिलो खेल जापानविरुद्ध २३ नोभेम्बरमा खेल्नेछ ।
दुवै खेलाडी घाइते छन् । जर्मनीले विश्वकपको तयारीका लागि ओमानविरुद्धको खेलअघि गरेको प्रशिक्षणमा दुवै खेलाडी उपस्थिति थिएनन् । जर्मनीले आज ओमानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै छ । रुडिगर र मुलर दुवैले ओमानविरुद्धको खेल पनि गुमाउनेछन् ।
“हामीले कतारमा सफलता हासिल गर्ने हो यस स्थानमा क्षमतावान खेलाडी चाहिन्छ । रुडिगर र मुलर दुवै जापानविरुद्धको खेलका लागि प्रशिक्षणमा उपलब्ध हुनेछन्,” जर्मनीका प्रशिक्षक फ्लिकले भने ।
उच्च लयमा रहेका मारियो गोट्जे पनि ओमानसँगको खेलका लागि गरिएको ट्रेनिङमा उपलब्ध थिएनन् ।
“खेलाडीको रिकभरी महत्त्वपूर्ण हो । गोट्जेले पछिल्लो समय धेरै खेल खेलेका छन् । त्यसकारण हामी यस विषयमा धेरै सचेत छौँ,” प्रशिक्षक फ्लिकले थपे ।
जर्मनी २०१८ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो । यसपटक भने जर्मनी गत संस्करको हारलाई बिर्सेर पुरानै लयमा फर्किने अभियानमा जुटेको छ । जर्मनीले २३ नोभेम्बरमा जापान, २८ नोभेम्बरमा स्पेन र २ डिसेम्बरमा जर्मनीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।