1668589671.jpg)
काठमाडौं । ब्राजिलका फरवार्ड रोड्रिगोले विश्वकपमा रहेको सानदार इतिहासकै आधारमा ब्राजिललाई दाबेदार भन्न नमिले पनि टोलीमा सफलताका लागि चाहिने सम्पूर्ण गुण रहेको बताएका छन् ।
विश्वकपका दक्षिण अमेरिकी छनोटमा ब्राजिलले शीर्ष स्थानमा रहँदै कतारमा आफ्नो स्थान पक्का गरेको थियो । छनोटमा अपराजित रहेको ब्राजिलले दोस्रो स्थानको अर्जेन्टिनासँग ६ अंकको दुरी बनाएको थियो ।
“हाम्रो जर्सीमा पाँच तारा रहेका कारण हामी विश्वकपको दाबेदार भएका होइनौँ,” रोड्रिगोले भने, “हामी विश्वकपमा बलियो टोलीमध्येका एक हौँ । यसमा कुनै शंका छैन । तर, त्यहाँ अरू पनि स्तरीय टिम छन् ।”
पाँचपटक विश्वकपको उपाधि जितेको ब्राजिल विश्वकपको सर्वाधिक सफल टिम हो । ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ को विश्वकप उपाधि जितेको थियो ।
विश्वकपमा ब्राजिल समूह ‘जी’ मा छ । यो समूहमा ब्राजिलसँगै सर्विया, स्विट्जरल्यान्ड र क्यामरुन छन् । ब्राजिलले मंसिर आठ गते सर्वियासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।