
काठमाडौं । अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले फरवार्ड लियोनल मेसीले कतारमा हुने विश्वकप खेल्न आतुर रहेको बताएका छन् ।
अर्जेन्टिना तेस्रोपटक विश्वकपको उपाधि जित्ने अभियानमा छ । अर्जेन्टिनाले आज वार्मअप खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्दै छ । अर्जेन्टिनाले यूएईविरुद्ध अबु धाबीमा खेल्न लागेको हो ।
१९७८ मा आफैँले आयोजना गरेको विश्वकपमा पहिलोपटक उपाधि जितेको अर्जेन्टिनाले सन् १९८६ मा दोस्रोपटक उपाधि उचालेको थियो । कतारमा अर्जेन्टिना तेस्रो विश्व उपाधि जित्ने अभियानमा हुनेछ । र, पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड मेसीले अर्जेन्टिनाको उपाधि जित्ने अभियानमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
“मेसी सधैँ विश्वकपका लागि उत्सुक रहेको पाउँछु,” स्कालोनीले बुधबारको खेल अघि भने, “अर्जेन्टिनाको जर्सीमा कसरी खेल्नुपर्छ भनेर मेसीलाई राम्रोसँग थाहा छ । उनी टिमका साथीहरूसँग रमाइरहेका छन् ।”
अर्जेन्टिनाको टिममा मिडफिल्डर जियोभानी लो सेल्सो हुने छैनन् । प्रशिक्षक स्कालोनीले लो सेल्सोलाई प्रतिस्थापन गर्न कठिन भएको बताए ।
“उनको स्थानबाट खेल्ने उनीजस्तै खेलाडी छैनन्,” स्कालोनीले भने, “तर, खेलको आवश्यकताअनुसार टिम निर्माण हुनेछ ।”
स्कालोनीले मार्कुस अकुनालाई यूएईविरुद्धको खेलमा परिक्षण गर्ने बताएका छन् ।
अर्जेन्टिनाले २२ नोभेम्बरमा साउदी अरबविरुद्धको खेलबाट कतार विश्वकपको सुरुवात गर्नेछ । यूएईविरुद्ध खेल त्यसअघि खेल्ने अन्तिम अभ्यास खेल हो । अर्जेन्टिना विश्वकपको समूह ‘सी’मा छ । यस समूहमा अर्जेन्टिनाले मेक्सिको, पोल्यान्ड र साउदी अरबविरुद्ध खेल्नेछ ।