
काठमाडौं । फ्रान्सका फरवार्ड क्रिस्टोफर एनकुन्कुले चोटका कारण कतार विश्वकप गुमाउने भएका छन् । एनकुन्कु मंगलबार प्रशिक्षणका क्रममा घाइते भएको फ्रान्स फुटबल संघले जनाएको छ ।
आरबी लाइपजिगका फरवार्ड एनकुन्कु मंगलबारको ट्रेनिङ सेसनबाट चाडै निस्किएका थिए । उनको बायाँ घुँडामा चोट लागेको छ । सामाजिक सञ्जालमा आएको भिडियो अनुसार एनकुन्कु टिमका सहयात्री इडुआर्डो कामाभिङ्गासँग ठोक्किँदा घाइते भएका हुन् ।
“एक्स–रे रिपोर्टअनुसार उनको लिगामेन्टमा चोट लागेको छ । जुन दुर्भाग्य हो,” फ्रान्स फुटबल संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । फ्रान्सले एनकुन्कुको मेडिकल रिपोर्ट फिफालाई बुझाएपछि उनको स्थानमा कसलाई राख्ने भनेर निर्णय गर्नेछ ।
फ्रान्सले टिममा राखेको रक्षक प्रेसनेल किम्पेम्बेले पनि विश्वकप गुमाउने भएका छन् । किम्पेम्बेको ह्यामस्ट्रिङ चोट लागेको हो ।