
काठमाडौं । जर्मनीका प्रशिक्षक हान्सी फ्लिकले २०१४ मा विश्वकप जित्दा फाइनलमा निर्णायक गोल गरेको मारियो गोट्जेलाई आश्चर्यजनक रूपमा कतार विश्वकपको टिममा बोलाएका छन् ।
गोट्जेले पाँच वर्षपछि राष्ट्रिय टोलीमा सनसनीपूर्ण पुनरागमन गरेका हुन् । अनुभवी गोट्जेसँगै जर्मनीले बिहीबार सार्वजनिक गरेको विश्वकपमा टिममा बोरुसिया डर्टमन्डका युवा खेलाडी १७ वर्षीय युसुफा मुकोकोले पनि स्थान बनाउन सफल भएका छन् । मुकोकोल जारी सिजन जर्मन बुन्डेसलिगामा ६ गोल गरिसकेका छन् ।
“युसुफा जीवन्त र छरितो खेलाडी हुन् । उनको लागि साँच्चै खुसी छौँ,” जर्मनीका प्रशिक्षक फ्लिकले भने ।
वेर्डर ब्रेमेनका फरवार्ड निकलस फुएलक्रगले पनि टिममा स्थान बनाएका छन् । फुएलक्रगले पनि १० गोल गरिसकेका छन् । टिमो वेर्नर र लुकास नेचाले घाइते भएका कारण विश्वकप गुमाएका छन् । त्यस्तै डर्टमन्डका कप्तान मार्को रेउस र रक्षक म्याट्स ह्युमेल्सले चोटका कारण विश्वकप गुमाए ।
३० वर्षीय मिडफिल्डर गोट्जेको पुनरागमन त्यसै भएको भने होइन । उनले जारी सिजन सिजन इन्ट्राचट फ्राङ्कफर्टबाट उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
“गोट्जे टिममा छन् । उनी पछिल्लो पटक २०१७ मा टिममा थिए । हामी सबैलाई थाहा छ कि उनी एक असाधारण खेलाडी हुन् । उनले पछिल्ला खेलहरूमा धेरै उच्च स्तरमा प्रदर्शन गरिरहेका छन्,” फ्लिकले भने ।
जर्मन टिममा बायर्न म्युनिखका थोमस मुलर, जमाल मुसियाला, लेरोए साने, सर्ज गनाब्री, लियोन गोरेट्जका र जोशुआ किमिचले टिममा स्थान बनाएका छन् । त्यस्तै गोलकिपर म्यानुयल नुयरले टोलीको नेतृत्व गर्नेछन् र लगातार चौथो विश्वकपका लागि पहिलो रोजाइ रहनेछन् ।
चारपटकको उपाधि विजेता जर्मनी २०१८ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो । जर्मनीले कतारमा २३ नोभेम्बरमा जापानविरुद्धको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ । समूह ‘ई’ रहेको जर्मनीले जापानसँगै स्पेन र कोस्टारिकासँग प्रतिस्पर्धा गर्नेछ ।
जर्मनी सोमबार ओमान प्रस्थान गर्दै छ । जहाँ जर्मनीले १६ नोभेम्बरमा अन्तिम अभ्यास खेल खेल्नेछ र दोहाका लागि उड्नेछ ।
जर्मनीको टिम :
गोलकिपर : म्यानुयल नुयर (बायर्न म्युनिख), मार्क–आन्द्रे टेर स्टेगन (बार्सिलोना), केभिन ट्राप (इन्ट्राचट फ्राङ्कफर्ट)
रक्षापंक्ति : म्याथिस गिन्टर (फ्रेइबर्ग), एन्टोनियो रुडिगर (रियाल मड्रिड), निकलस सुएल (बोरुसिया डर्टमन्ड), निको स्लोटरबेक (बोरुसिया डर्टमन्ड), थिलो केहरर (वेस्ट ह्याम युनाइटेड), डेभिड राउम (आरबी लाइपजिग), लुकास क्लोस्टरम्यान (साउथह्याम्पटन), अर्मेल बेला कोटचप (साउथह्याम्पटन), क्रिस्टेन गुन्टर (फ्रेइबर्ग)
मिडफिल्ड : इल्के गुन्डोगन (म्यान्चेस्टर सिटी), योनास होफम्यान (बोरुसिया मोन्चेनग्लाडबच), लियोन गोरेट्जका (बायर्न म्युनिख), सर्ज गनाब्री (बायर्न म्युनिख), लेरोए साने (बायर्न म्युनिख), जमाल मुसियाला (बायर्न म्युनिख), जोशुआ किमिच (बायर्न म्युनिख) थोमस मुलर (बायर्न म्युनिख), युलियन ब्रान्डट (बोरुसिया डर्टमण्ड), मारियो गोट्जे (इन्ट्राचट फ्रांकफर्ट)
फरवार्ड : काई हाभर्ट्ज (चेल्सी), युसुफा मुकोको (बोरुसिया डर्टमन्ड), निकलस फुएलक्रग (वेर्डर ब्रेमेन), करिम अडेमी (बोरुसिया डर्टमन्ड)