
काठमाडौं । ब्राजिलका प्रशिक्षक टिटेले कतारमा हुने फिफा विश्वकप २०२२ का लागि सोमबार घोषणा गरेको २६ सदस्यीय टिममा ३९ वर्षे ड्यानियल आल्भेसले स्थान बनाउँदा लिभरपुलका फरवार्ड रोबर्टो फिर्मिनो भने अटाएनन् ।
एस्टन भिल्ला अनुभवी आक्रमक मिडफिल्डर फिलिप कौटिन्हो पनि टिममा समावेश छैनन् । ३० वर्षीय कैटिन्होको गत साता प्रशिक्षणका क्रममा तिघ्रामा चोट लागेको थियो । जसका कारण उनी युनाइटेडविरूद्धको खेलमा पनि अनुपस्थित थिए । अझै उनी केहि साता मैदान बाहिर रहने पक्का छ ।
पाँच पटकको उपाधि विजेता ब्राजिलका प्रशिक्षक टिटेले रक्षापंक्तिमा युभेन्टसका एलेक्स सान्ड्रो, ड्यानिलो र ग्लेसन ब्रेमरसँगै पीएसजीका मार्क्विनहोस, चेल्सीका थियागो सिल्भा, पुमासका ड्यानियल आल्भेस, रियाल मड्रिडका इडर मिलिटो र सेभियाका एलेक्स टेलेसलाई समावेश गरेका छन् । एएस रोमाका रोजर इबानेज तथा आर्सनलका ग्याब्रियल म्यागाल्हेस भने टिममा परेका छैनन् ।
ब्राजिलको टोलीमा इङ्लिस प्रिमियर लिगको वर्चस्व रहेको छ ।प्रिमियर लिगका १२ खेलाडी सूचीमा समावेश गरिएको छ। त्यसमा आर्सनलका ग्याब्रियल मार्टिनेली पनि पर्न सफल भएका छन् । ब्राजिलको टिममा ९ जना फरवार्ड छन् । तर, पनि लिभरपुलका फरवार्ड फिर्मिनो टिटेको रोजाइमा पर्न असफल रहे ।
ब्राजिलियन फुटबल संघले पीएसजीका पूर्व प्रशिक्षक रिकार्डो गोमेसलाई टिटेको सहायकका रूपमा प्रशिक्षण टिममा समावेश गर्ने घोषणा पनि गरेको छ।
टोली र टिटे नोभेम्बर १४ मा टुरिनमा युभेन्टसको प्रशिक्षण केन्द्रमा भेला हुनेछन् । जहाँ ब्राजिलले नोभेम्बर १९ मा दोहा उड्नुअघि पाँच दिने प्रशिक्षण शिविर सञ्चालन गर्नेछ । ब्राजिलले नोभेम्बर २५ मा सर्बियाविरूद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
ब्राजिल टिम:-
गोलकिपर : एलिसन (लिभरपुल), एडरसन (म्यानचेस्टर सिटी), वेभर्टन (पाल्मिरास)।
रक्षक : ग्लेसन ब्रेमर (युभेन्टस), एडर मिलिटो (रियाल मड्रिड) मार्किन्होस (पीएसजी), थियागो सिल्भा (चेल्सी), ड्यानिलो (युभेन्टस), ड्यानियल अल्भेस (पुमास), एलेक्स सान्ड्रो (युभेन्टस), एलेक्स टेलेस (सेभिल्ला)।
मिडफिल्डर : ब्रुनो गुइमारेस (न्युक्यासल युनाइटेड), कासेमिरो (म्यानचेस्टर युनाइटेड), एभर्टन रिबेरो (फ्लेमेन्गो), फाबिनहो (लिभरपुल), फ्रेड (म्यानचेस्टर युनाइटेड), लुकास पाकेटा (वेस्ट ह्याम)।
फरवार्ड : एन्टोनी (म्यानचेस्टर युनाइटेड), गाब्रियल जिसस (आर्सनल), गाब्रियल मार्टिनेली (आर्सनल), नेयमार (पीएसजी), पेड्रो (फ्लेमेन्गो), राफिन्हा (बार्सिलोना), रिचार्लिसन (टोटनहम), रोड्रिगो (रियाल मड्रिड), भिनिसियस जुनियर (रियाल मड्रिड) ।