site stats
तात्दै छ विश्वकपको माहोल
तात्दै छ विश्वकपको माहोल

काठमाडौं । पछिल्ला केही महिना देश सांस्कृतिक पर्वमय बन्यो । नेपालीको महान् चाड दसैँ, तिहार र छठले क्रमशः असोज र कात्तिक महिना पर्वमय बन्यो । यी चाड सकिएलगत्तै नेपाली समाजलाई अर्को पर्वले छोप्दै छ । त्यो हो, विश्वकप फुटबल । त्यसो त यही समय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको माहोल पनि छ । विश्वव्यापी रूपमा सबैभन्दा लोकप्रिय खेलको सबैभन्दा ठूलो प्रतियोगिता हो, फिफा विश्वकप । जसले आगामी चार वर्षका लागि प्रतिस्पर्धी ३२ मध्ये जुन कुनै एक टिमलाई विश्व च्याम्पियनको ताज पहिर्‍याउनेछ । त्यसैले चुनावी सरगर्मीले नेपाली नागरिकलाई जति आफूतर्फ तान्नेछ त्यति नै फुटबलप्रेमी दर्शकको ध्यान विश्वकप फुटबलले खिच्नेछ ।  

नेपालमा पनि फुटबलको लोकप्रियता सबैभन्दा बढी छ । त्यसैले विश्वकप फुटबलले नेपालमा पनि उल्लासपूर्ण वातावरण सिर्जना नगर्ने कुरै भएन । उसै पनि नेपालमा फुटबलको संस्कार पुरानो र समृद्ध छ । हुन त कतार विश्वकपमा नेपालको आफ्नै टिम छैन । त्यसो त नेपालको त्यो गौरवमय इतिहास पनि छैन । तर, भविष्यमा पनि विश्वकपमा नेपालको उपस्थिति होला भन्नेमा खासै उत्साहपूर्ण आशा गर्न सकिन्न । यद्यपि, खेलप्रेमी मात्र नभई सामान्य मानिसमा समेत चासो जगाउने भएकाले कतार विश्वकप नेपाली समर्थकका लागि पनि विशेष छ ।

 

यसपटकको विश्वकप कतारमा मंसिर ४ गतेबाट सुरु हुनेछ । त्यतिनै बेला नेपालमा संघ र प्रदेशको चुनाव पनि छ । देश जति चुनावमय बनेको छ । त्यही रफ्तारमा विश्वकपमय पनि बन्दै छ । झन् एसिया महादेशमै हुन लागेकाले पनि यसपटक नेपाललाई विश्वकपले विशेष रुपमा छोएको छ ।
 
मंसिर ४ गते इक्वेडर र आयोजक कतारबीचको खेलबाट सुरु हुने विश्व फुटबलको कुम्भमेला सारा देशलाई फुटबलको ज्वरोमा तताउँदै पुस ३ सम्म चल्नेछ । त्यसैले त विश्वकप नजिकिँदै गर्दा यसबारे विश्लेषण, चर्चा, आँकलन र टिमको समर्थन हुन थालिसकेको छ । 

स्वाभाविक रूपमा राजनीनिज्ञ, सेलिब्रिटी र विभिन्न पेसाकर्मीका लागि पनि विश्वकप फुटबल दुई महिनासम्म चासो र चर्चाको पहिलो विषय बन्नेछ । धेरैले मनपर्ने टिमको समर्थनमा सामाजिक सन्जालभर आफ्नो धारणा पोस्ट्याउँछन् । 

 

यीबाहेक अन्य क्षेत्रमा पनि विश्वकपले विशेष महत्व राख्छ । बजारभर विश्वकपका सहभागी विभिन्न देशका जर्सीहरू छ्यापछ्याप्ती झुन्ड्याइएका हुन्छन् । अहिले खेल सामग्री व्यापारीहरूका लागि पनि विश्वकप विशेष बनिरहेको छ । विभिन्न खेलाडीको नामांकित जर्सी लगाएर पक्ष र विपक्षसहित फुटसल सेन्टर या फुटबलका मैदानमा प्रतियोगिता भइरहन्छन् । त्यसैले पनि अन्य समयको तुलनामा व्यापारीका लागि यो राम्रो अवसर हो । तर, जाडो बढ्दै गएकाले केही असर भने पक्कै परेको छ । धुम्बाराहीमा रहेको इलाइट स्पोट्र्सका प्रोप्राइटर रवीन शाक्य गत संस्करणको तुलनामा यसपालि त्यति राम्रो व्यापार हुन नसके पनि विश्वकपले कात्तिकको ठण्डीमा पनि माहोल भने तताइरहेको बताउँछन् । 

“विश्वकप हामी खेल सामग्री व्यापारीका लागि विशेष नै हुन्छ । तथापि, ठ्याक्कै जाडो मौसम बढेकाले गत संस्करणको तुलनामा त्यति राम्रो व्यापार भने हुन सकेको छैन । सन् २०१८ मा रसियामा भएको विश्वकपको समय व्यापार निकै राम्रो थियो, त्यो अवस्था अहिले छैन,” शाक्यले भने, “जाडोले गर्दा टिसर्ट लगाएर हिँड्ने अवस्था भएन । तर, पनि विश्वकपमा सहभागी विभिन्न राष्ट्रका टिसर्टहरू अर्डर भने आइरहेका छन् । त्यसैले विश्वकपको माहोल बनिसकेको छ । यसपालि जर्सीको ठाउँमा ज्याकेट लगाउन चाहने समर्थक पनि धेरै छन् । हामीकहाँ ज्याकेट मगाउनुपर्यो भनेर आउने ग्राहकको संख्या उल्लेख्य छ ।”

नेपालमा एडिडासका सामग्री बिक्री गर्दै आइरहेका राजीव श्रेष्ठले पनि अन्य समयको तुलनामा विश्वकपले विशेष माहोल सिर्जना गर्ने बताए । “हामीले विश्वकपका लागि सामग्री ल्याइसकेका छैनौं । तर, माग गरिरहेका छौँ । यो समय फुटबलप्रेमीका लागि विशेष हो । त्यसैले विश्वकपको समय बजारमा कारोबार पनि बढ्छ,” श्रेष्ठले थपे । 

विश्वकपको समय टेलिभिजन व्यापारीका लागि राम्रो अवसर हुने गर्छ । विश्वकपका खेलहरू ठूलो इन्च र राम्रो टिभीमा हेर्ने सबैको चाह हुन्छ । चाडपर्वका समयमा जस्तै विश्वकपका बेलामा पनि छुटको व्यवस्था राखिएको हुन्छ । त्यसैले टेलिभिजन पसलतर्पm पनि विश्वकपको समय केही माहोल बढ्ने गर्छ । 

नयाँ बानेश्वरमा रहेको ए वान सेल्स एन्ड सर्भिसका प्रबन्ध निर्देशक अञ्जन श्रेष्ठले विश्वकपको समयमा टेलिभिजनको बिक्री बढ्ने बताइन् ।  

“भर्खरै ठूला चाड सकिएका छन् । दसैँ र तिहारको समयमा राम्रो संख्यामा टेलिभिजन बिक्री भए । दसैं–तिहारलगत्तै विश्वकप भएकाले विगतको तुलनामा कम बिक्री भएजस्तो देखिएको छ । तर, मानिसले दसैँ तिहारमै विश्वकपसमेत लक्षित गरेर किनिसकेका छन्,” श्रेष्ठले भने, “नेपालीका ठूला चाड सकिएका छन् । अब विस्तारै विश्व फुटबलकै सबैभन्दा ठूलो चाडको माहोल तात्दै छ । विश्वकप ठूलो टिभीमा हेरौँ भन्ने सबैको चाहना हुन्छ, त्यसैले पनि विश्वकपले व्यापार बढ्छ ।” 

अझ भनौँ टिभी, खेलकुद सामग्री व्यापारीका लागि भने राम्रो अवसर पनि हो । केबल र नेट व्यवसायीले पनि यो अवसरमा आफ्नो व्यापार बढाउने प्रयत्न गर्छन् । छुटको व्यवस्था र आकर्षक सेवा दिने भन्दै उनीहरूलाई आफ्नोतर्पm आकर्षित गर्ने गरेका छन् । हरेक कारणले विश्वकप फुटबलले छुट्टै माहोल निर्माण गर्छ । मनोरन्जन मात्र नभएर व्यापारिक हिसाबले पनि विश्वकपले विशेष महत्व राख्छ । 

प्रकाशित मिति:सोमबार, कात्तिक २८, २०७९  १२:०५
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल