
काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप नजिकिँदै गर्दा सहकर्मी एन्जेल डी मारिया र पाउलो डिबालाको चोटप्रति चिन्ता व्यक्त गरेका छन् ।
पिडौँलाको समस्याका कारण पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि दुई खेल गुमाएका मेसीले कुनै पनि ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताअघि खेलाडीका लागि चोटपटक सधैं चिन्ताको विषय हुने बताए ।
“यो चिन्ताको विषय हो । किनभने यो फरक विश्वकप हो । तपाईँ फरक समय र फरक वातावरणमा खेल्नुहुन्छ । हामी विश्वकपको यति नजिक छौँ कि तपाईँलाई हुन सक्ने कुनै पनि सानो कुराले नतिजामा असर पर्न सक्छ,” ३५ वर्षीय मेसीले डाइरेक्ट टीभी स्पोटर््ससँग भनेका छन्, “आशा छ, दुवैजना चाँडै ठिक हुनेछन् । आशा छ हामी सबै विश्वकपअघि स्वस्थ हुनेछौँ ।”
युभेन्टसका फरवार्ड डी मारियाको ह्यामस्ट्रिङमा समस्या छ । चोटका कारण डी मारिया कम्तिमा अर्को महिनाको सुरुसम्म मैदानबाहिर हुने अनुमान गरिएको छ । डिबाला भने तिघ्रामा लागेको चोटका कारण नोभेम्बर–डिसेम्बरमा कतारमा हुने विश्वकप गुमाउन सक्ने सम्भावना छ ।
मेसीले विश्वकप नजिकिँदै गरेको अवस्थामा चोटको सम्भावना ‘डरलाग्दो’ रहेको बताए ।
विश्वकप २०२२ मा अर्जेन्टिना समूह ‘सी’मा छ । अर्जेन्टिनाले समूह ‘सी’मा साउदी अरेबिया, मेक्सिको र पोल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।