site stats
विश्वकप फुटबल : मोरोक्कोमाथि २–१ को जितसहित क्रोएसिया तेस्रो  
)
विश्वकप फुटबल : मोरोक्कोमाथि २–१ को जितसहित क्रोएसिया तेस्रो   

काठमाडौं । मोरोक्कोलाई शनिबार २–१ गोल अन्तरले हराउँदै साविक उपविजेता क्रोएसियाले कतारमा जारी फिफा विश्वकपको तेस्रो स्थान हासिल गरेको छ । 

कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलको सातौँ मिनेटमा जोस्को जिभार्डियलले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । ओभ्रो माजेरको क्रसलाई इभान पेरिसिचले बक्सभित्र जिभार्डियलका लागि मिलाइदिएका थिए । जसमा जिभार्डियलले उत्कृष्ट हेडर गोल गरे ।

तर, क्रोएसियाको यो अग्रता धेरैबेर टिक्न पाएन । यसको अर्को मिनेटमा नै अक्रफ दारीले गोल गर्दै मोरोक्कोलाई बराबरीमा फर्काएका थिए । बक्सबाहिरबाट आएको फ्रिकिक बल क्रोएसिका ओभ्रो माजेरले क्लियर गर्न नसक्दा दारीले हेडर गोल गरेका थिए । 

तर, पहिलो हाफमा लागि तीन मिनेट बाँकी रहँदा मिस्लाभ ओर्सिचले गोल गर्दै पुनः क्रोएसियालाई अग्रता दिलाएका थिए । र, ओर्सिचको गोल नै निर्णायक बनेपछि क्रोएसियाले कतार विश्वकपमा तेस्रो स्थान हासिल गर्‍यो ।

विश्वकपको इतिहास क्रोएसियाले दोस्रोपटक तेस्रो स्थान हासिल गरेको हो । यसअघि क्रोएसियाले सन् १९९८ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो । जुन विश्वकपमा क्रोएसियाको पहिलो सहभागितासमेत थियो । 

क्रोएसियाले विश्वकपको पछिल्लो संस्करणमा भने फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, फाइनलमा फ्रान्ससँग ४–२ ले पराजित भएपछि क्रोएसियाले उपविजेतामा चित्त बुझाएको थियो । 

यता, मोरवक्को भने अफ्रिका महादेशबाट विश्वकपको सेमिफाइनल खेल्ने पहिलो टिम हो । 

सेमिफाइनल खेलमा मोरवक्को फ्रान्ससँग २–० ले र क्रोएसिया अर्जेन्टिनासँग ३–० पराजित भएका थिए । 

विश्वकपको फाइनल खेल आइतबार लुसैल रंगशालामा हुनेछ । 

प्रकाशित मिति:आइतबार, पुस ३, २०७९  ०७:४२
Post Comments