site stats
विश्वकपबाट बाहिरिएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले जिम्मेवारी छोडे
)
विश्वकपबाट बाहिरिएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले जिम्मेवारी छोडे

काठमाडौं । विश्वकपको क्वार्टरफाइनलमा पराजित भएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले जिम्मेवारी छोडेका छन् ।

पोर्चुगलकको इतिहासमै सफल प्रशिक्षक बनेका ५८ वर्षीय सान्तोसले कतारमा जारी विश्वकपको क्वार्टरफाइनलमा मोरक्कोसँग १–० ले पराजित हुँदै बाहिरिएपछि टिमको जिम्मेवारी छोडेका हुन् । 

पोर्चुगल फुटबल फेडेरेसन (एफपीएफ)ले विज्ञप्ति जारी गर्दै सहमतिमा सान्तोसले टिमको जिम्मेवारी छोडेको जनाएको छ । 

“एफपीएफ र सान्तोसबीच २०१४ देखि सुरु भएको उच्च सफल यात्रा समाप्त गर्ने सहमति  भएको छ । कतारमा जारी विश्वकपमा राष्ट्रिय टिमको राम्रो सहभागितापछि एफपीएफ र सान्तोस पोर्चुगलको नयाँ यात्राको सुरुआतका लागि यो सही समय भएको निस्कर्षमा पुगेको हो,” एफपीएफले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “फर्नान्डो सान्तोसजस्तो प्रशिक्षक पाउँनु पोर्चुगलका लागि सम्मानको कुरा हो । पछिल्लो आठ वर्षयता सान्तोस र उनको प्राविधिक टिमले पुर्याएको योगदानप्रति एफपीएफ धन्यवाद दिन चाहन्छ ।”

सान्तोस सन् २०१४ मा पोर्चुगलको मुख्य प्रशिक्षक बनेका थिए । पोर्चुगिज फुटबल इतिहासमा सबैभन्दा सफल प्रशिक्षक बनेका सान्तोसले टिमलाई सन् २०१६ को युरोपियन च्याम्पियनसिप र २०१९ को यूईएफ नेसन्स कपको उपाधि दिलाएका थिए ।

प्रकाशित मिति:शुक्रबार, पुस १, २०७९  १३:१३
Post Comments