
काठमाडौं । तीन महिनाअघि एन्टोइन ग्रिजमन नियमित एट्लेटिको मड्रिडको बेन्चमा थिए । क्लबसँगको सम्झौता पनि यसको एक कारक थियो । तर, अहिले लगातार दोस्रो विश्वकपको उपाधि लक्ष्यमा रहेको फ्रान्सबाट उनी उत्कृष्ट लयमा देखिएका छन् । यद्यपि, टिममा उनको भूमिका भने परिवर्तन भएको छ ।
गोलमा फ्रान्स ओलिभर जिरुड र किलियन एमबाप्पेमा केन्द्रित छ । तर, शनिबार विश्वकपको क्वार्टरफाइनलमा इङ्ल्यान्डविरुद्ध खेल्नुअघि इङ्लिस प्रशिक्षक ग्यारेथ साउथगेटले ‘ग्रिजमन फ्रान्सको असाधारण खेलाडी’ भएको बताएका थिए ।
एट्लेटिको मड्रिडका खेलाडी अहिले डिडियर डेसच्याम्पको फ्रान्समा मिडफिल्डरको रूपमा उदाएका छन् । जसले इङ्ल्यान्डविरुद्ध २–१ को जित निकाल्दा दुई असिस्ट गर्दै साउथगेटको भनाइलाई प्रमाणित गरे ।
सन् २०१८ को विश्वकपमा तेस्रो उत्कृष्ट खेलाडी बनेका ३१ वर्षीय ग्रिजमन यो विश्वकपमा योभन्दा अझ माथि जानसक्ने देखिएको छ ।
ग्रिजमन र उनको टिम फ्रान्स अब उपाधिका लागि एक खेलमात्र टाढा छन् । यदि फाइनलमा लियोनल मेसीको अर्जेन्टिनालाई पराजित गरे फ्रान्स सन् १९६२ पछि विश्वकपको लगातार दुई विश्वकपको उपाधि जित्ने पहिलो टिम बन्नेछ । १९६२ मा ब्राजिलले लगातार दुई उपाधि जितेयता कुनै पनि टिमले लगातार उपलब्धि हासिल गर्न सकेका छैनन् । ब्राजिलअघि यो उपलब्धि इटालीले पाएको थियो । इटालीले सन् १९९३४ र १९३८ गरी दुई संस्करणको लगातार उपाधि जितेको थियो ।
नयाँ के छ ?
ग्रिजमनले करियरको अधिकांश समय विङ, सबैभन्दा अघि वा स्ट्राइकरको केही पछाडि १० नम्बर जर्सीको भूमिकामा बिताए ।
तर, टिमका प्रमुख मिडफिल्डर पाउल पोग्बा र एन्गोलो कान्टे घाइते भएपछि ग्रिजमले कतारमा मिडफिल्डरको खाडल पुरिरहेका छन् । र, यसमा उनी सफलसमेत भइरहेका छन् ।
“मैले उनलाई फरक कुराका लागि आग्रह गरे,” फ्रान्सका प्रशिक्षक डेसच्याम्पस्ले भने । जो सन् १९९८ मा फ्रान्सले विश्वकपको उपाधि जित्दा टिमका प्रमुख सदस्य थिए ।
“यसमा ग्रिजमनले आफ्नो पोजिसन नपाएकोमा दुखेसो गरेका छैनन् । उनी उदार छन् र बल पाउँदा र पास दिँदा आनन्द महसुस गर्छन् । पक्कैपनि उनले पहिलेको तुलनामा कम गोल गर्छन् । तर, उनी ट्यालक गर्न र बल खोज्न निकै रमाउँछन् । खेललाई बुझेर खेल्नका चाहिने सबैकुरा छ उनीसँग, भिजन, कार्यशैली, टच, त्यो इनर्जी र चलाखपन ।ू
ग्रिजमनले जारी विश्वकपमा तीन असिस्ट गरेका छन् । जसले ग्रिजमनलाई पोर्चुगलका ब्रुनो फर्नान्डेज, इङ्ल्यान्डका ह्यारी केन र अर्जेन्टिनाका लियोनल मेसीसँग संयुक्त रूपमा जारी विश्वकपको सबैभन्दा धेरै असिस्ट गर्ने खेलाडी बनाएको छ ।
ग्रिजनमले जारी विश्वकपमा सबैभन्दा धेरै ९२१० मौका सृजना गरेका छन् । उनलाई पछ्याइरहेका मेसीले १८ मौका सृजना गरेका छन् ।
२०१८ को विश्वकपमा ग्रिजमन असिस्टमा संयुक्त रूपमा पहिलो भएपनि मौका सृजनामा भने उनी ११ औँ स्थानमा थिए ।
बार्सिलोना तथा रियाल सोसिडाडका पूर्व फरवार्ड ग्रिजमन भन्छन्, “नयाँ भूमिकामा म केही स्वतन्त्र छु । खेलमा म रक्षापंक्ति र फरवार्ड लाइनबीचको जोड हुनैपर्छ । मसँग अगाडि तीन खेलाडी ९एमबाप्पे, जिरुड र ओस्मान डेम्बेले० हुन्छन् । म अगाडि धेरै विकल्प भएकाले पनि मलाई केही सहज भएको छ ।”
“राष्ट्रिय टिमका सबै कुराहरूमा म डेसच्याम्पसप्रति ऋणी छु । फ्रान्सका लागि मैले सतप्रतिसत दिएको छु । यो जर्सीका लागि र मेरो आफ्नै लागि पनि । डेसच्याम्पसको भरोसा कायम राख्न मैले आफ्नो तर्फबाट उत्कृष्ट प्रयास गरिरहेको छु । सबै खेलमा म उनका लागि मेरो तर्फबाट धन्यवाद दिन्छु । म उनलाई मबाट गर्विलो महसुस गर्ने बनाउन चाहन्छु ।”
फ्रान्सेली टिममा ग्रिजमनसँगै युभेन्ट्सका अद्रियन र्याबियोट र रियाल मड्रिडका चुआमेनी मिडफिल्डरको रूपमा छन् ।
जारी विश्वकपका हालसम्म ग्रिजमनले एक गोल पनि गरेका छैनन् । अझ उनले अहिलेसम्म गोलका लागि ६ प्रहार गरेका छन् । जुन पछिल्लो संस्करणको तुलनामा १६ प्रहार कम हो । रुस विश्वकपमा उनले २२ प्रहार गरेका थिए ।
फ्रेन्च फुटबल पत्रका युलियन लोउरेन्स भन्छन्, “ग्रिजमनको भूमिका परिवर्तन गरेर मिडफिल्डमा बलका लागि दौडिनु बनाउनु डेसच्याम्पसको राम्रो कदम हो । यो विश्वकपमा सबैभन्दा धेरै मौका सृजना गरेका उनी उत्कृष्ट लयमा छन् ।”
ग्रिजमनले २०१४ को विश्वकपमा पाँच खेल खेल्दा सात प्रहार र सात मौका सृजना गरेका थिए । जहाँ उनले गोल र असिस्ट गर्न भने सकेका थिएनन् ।
यस्तै, युरो २०१६ मा सात खेल खेल्दा ६ गोल, दुई असिस्ट, २८ प्रहार र १३ मौका सृजना गरेका थिए । २०१८ को विश्वकपमा सातै खेल खेल्दा ग्रिजमनले चार गोल, दुई असिस्ट, २२ प्रहार र १० मौका सृजना गरेका थिए । युरो २०२० मा चार खेल खेल्दा उनले एक गोल, सात प्रहार र १० मौका सृजना गरेका थिए । र, जारी विश्वकपमा ६ खेल खेल्दा उनले तीन असिस्ट, ६ प्रहार र २२ मौका सृजना गरेका छन् ।
यी ‘स्ट्याट’ को पर्याप्त चर्चा हुन नसक्दा ग्रिजमन अन्तर्राष्ट्रिय करियरमा ‘अन्डररेटेड’ रहेको बहस भइरहेको छ ।
२०१८ को विश्वकपमा ग्रिजमनको प्रदर्शन राम्रो रहँदा पनि चर्चाको केन्द्रमा भने एमबाप्पे रहेका थिए । ग्रिजमनले यो विश्वकपमा कास्य बल जितेका थिए । जुन प्रतियोगिताको तेस्रो उत्कृष्ट खेलाडीलाई दिइने आधिकारिक ट्रफी हो ।
यदि उनले यसपटक पनि गोल्डेन बलको दौडमा तेस्रो स्थान हासिल गरे अर्जेन्टिनी महान खेलाडी डियागो म्याराडोना र ब्राजिलका लेजेन्ड रोनाल्डोसँगै दुईपटक उत्कृष्ट खेलाडीको शीर्ष तीनमा रहने खेलाडी बन्नेछन् ।
उनले २०१८ को विश्वकपका चार गोलसहित सिल्भर बुट पनि जितेका थिए । त्यसबेला गोल्डेन बुट जितेका इङ्ल्यान्डका ह्यारी केनले ९पाँच गोल० मात्र ग्रिजमनभन्दा अगाडि थिए ।
सन् २०१४ मा फ्रान्सबाट ‘डेब्यू’ गरेयता ग्रिजमनले ४२ गोल गरिसकेका छन् । फ्रान्सबाट सर्वाधिक गोल गर्ने खेलाडीको सूचीको तेस्रो स्थानमा रहेका ग्रिजमनभन्दा अघि जिरुड र थिएरी हेनरीमात्र छन् । उनले फ्रेन्च टिमबाट ११५ खेल खेल्दा २८ असिस्ट गरेका छन् ।
उनले मुख्य प्रतियोगितामा फ्रान्सबाट खेलेका २८ खेलमा ११ गोल र सात असिस्ट गरेका छन् ।
केही अनौठो क्लब करिअर
ग्रिजमनले आफ्नो व्यावसायिक करियरको अधिकांश समय स्पेनमा बिताए । रियाल सोसिडाड, एट्लेटिको मड्रिड र बार्सिलोनाबाट स्पेनिस ला लिगामा कुल ४७४ खेल खेलेका ग्रिजमनले १७० गोल गरेका छन् ।
सन् २०१४ यता स्पेनिस जायन्ट बार्सिलोना र एट्लेटिको मड्रिडबाट व्यावसायिक फुटबल खेलिरहे पनि ग्रिजमनले हालसम्म ला लिगाको उपाधि जित्न सकेको छैन ।
यो समयमा बार्सिलोनाले चारपटक र एट्लेटिकोले एकपटक लिगा जितेपनि ग्रिजमन यो समयमा फरक क्लबमा थिए । ग्रिजमन समरमा एट्लेटिको पुनः अनुबन्ध भएका थिए । तर एट्लेटिकोले उनी अनुबन्ध हुनुअघिको सिजन ला लिगा जितेको थियो ।
दुई सिजन क्याम्प नाउँमा बिताएका ग्रिजमनले बार्सिलोनाबाट १०२ खेलमा ३५ गोल गरेका छन् । उनी एट्लेटिको मड्रिडबाट १०७ मिलियन पाउन्डमा बार्सिलोना भित्रिएका थिए । जुन फुटबल इतिहासको छैटौँ सबैभन्दा ठूलो खेलाडी सरुवा थियो । तर, ग्रिजमनले बार्सिलोनामा खास प्रभाव देखाउन सकेनन् । जसका कारण बार्सिलोनाले खर्च कटौती गरेपछि उनी लोनमा पुनः एट्लेटिको आएका थिए ।
सिजनको सुरुआतमा उनी ‘विचित्र अनुबन्ध स्थिति’का कारण प्रभावित बनेका थिए । जसको अर्थ उनी एट्लेटिकोले खेलेका सुरुआती ११ खेलमध्ये आठ खेलमा बेन्चबाट ३० मिनेटभन्दा कम खेलेका थिए ।
यसै कारण, यदि एट्लेटिकोले खेलेका खेलमध्ये ५० प्रतिशतभन्दा धेरै खेलमा ४५ मिनेटभन्दा माथि खेले उनीहरूले बार्सिलोनाबाट ग्रिजमनलाई ४० मिलियन युरोमा अनुबन्ध गर्नुपर्ने हुन्थ्यो । यसपछि अक्टोबरमा एट्लेटिकोले नयाँ सम्झौतासहित ग्रिजमनलाई स्थायी रूपमा क्लबमा अनुबन्ध गर्यो ।
यस सिजन ग्रिजमनले एट्लेटिकोबाट ६ गोल गरेका छन् । र, अब विश्वकपपछि क्लबमा फर्किंदा डियागो सिमोनले ग्रिजमनलाई उही पुरानो शैली वा डेसच्याम्पसले दिएको नयाँ भूमिकामा राख्छन् भन्ने हेर्न भने बाँकी नै छ ।