
काठमाडौं । कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा क्रोएसियासँग खेल्नुअघि अर्जेन्टिनाका रक्षक निकोलस टाग्लिफिगोले लियोनल मेसी टिममा रहनु ‘विशेष फाइदा’ भएको बताएका छन् ।
विश्वकपमा अर्जेन्टिनाले सेमिफाइनलसम्मको यात्रा तय गर्दा गरेको नौ गोलमध्ये मेसी ६ गोलमा संलग्न छन् । जारी विश्वकपमा मेसीले अर्जेन्टिनाका लागि चार गोल र दुई असिस्ट गरेका छन् ।
“मेसी हरेक पल असाधारण छन् । हाम्रा लागि उनी टिमका कप्तान र नेतृत्वकर्ता हुन् । उनी हामीलाई अघि बढ्न प्रेरित गर्छन्,” टाग्लिफिगोले भने, “जब हामी मैदानमा हुन्छौं, मेसी अर्जेन्टिनाका लागि विशेष फाइदा बन्ने गर्छन् । हामीसँग मेसी छन् र यो हाम्रो लागि सबैभन्दा ठूलो प्रेरणा र आशाको स्रोत हो । मेसीलाई कप्तानको रुपमा पाएकोमा हामी निकै खुसी छौँ ।”
क्रोएसियासँगको आजको खेलसँगै मेसीले जर्मनीका लोथर म्याथुसको नाममा रहेको विश्वकपका सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमानसँग बराबरी गर्नेछन् । लोथरले विश्वकपमा २५ खेल खेलेका छन् ।
अर्जेन्टिनाले पछिल्लो ३६ वर्षयता विश्वकपको उपाधि जित्न सकेको छैन । अर्जेन्टिनाले पछिल्लो पटक सन् १९८६ मा म्याराडोनाको कप्तानीमा उपाधि जितेको थियो ।
यता, क्रोएसिया भने पहिलो उपाधिको खोजीमा छ । क्रोएसियाले सन् १९९८ देखिमात्रै विश्वकप खेल्न थालेको हो । क्रोएसियाले पछिल्लो संस्करणमा फाइनलसम्मको यात्रा तय गरे पनि फ्रान्ससँग ४–२ ले पराजित भएपछि उपविजेतामा सीमित बनेको थियो ।
कतारको लुसैल रंगशालामा हुने यो खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।