
काठमाडौं । पेनाल्टी सुटआउट ब्राजिललाई ४–२ ले पराजित गर्दै शुक्रबार साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
कतारको एजुकेसन सिटी रंगशालामा सम्पन्न खेलको निर्धारित ९० मिनेट, इन्जुरी समय र अतिरिक्त समयमा क्रोएसिया र ब्राजिल १–१ को बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । जसमा ब्राजिलका रोड्रिगोको प्रहार क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले बचाउँदा मार्किन्होसको प्रहार पोस्टमा लागेर फर्कियो ।
क्रोएसियाका ब्रुनो पेट्कोभिच, लोभ्रो मजेर, लुका मोड्रिच र मिस्लभ ओर्सिचले गोल गरे ।
ब्राजिलका कासिमिरो र पेर्ड्रोले गोल गर्दा रोड्रिगो र मार्किन्होसको प्रहारले जाली चुम्न सकेन ।
त्यसअघि खेलमा अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै नेइमारले ब्राजिललाई अग्रता दिलाएका थिए ।
नेइमारले क्रोएसियाका एक रक्षक र गोलकिपरलाई बिट गर्दै उत्कृष्ट गोल गरेका थिए । यो गोलसँगै नेइमारले ब्राजिलबाट सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमानसँग बराबरी गरे । नेइमारले पेलेको ७७ गोलको कीर्तिमानसँग बराबरी गरेका हुन् ।
तर, ११७ औँ मिनेटमा ब्रुनो पेट्कोभिचले गोल गर्दै क्रोएसियालाई खेलमा फर्काएका थिए । यसपछि गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।
यसअघि खेलको निर्धारित ९० मिनेट र इन्जुरी समयमा क्रोएसिया र ब्राजिल गोलरहित बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
जितसँगै क्रोएसियाले अब फाइनल प्रवेशका लागि अर्जेन्टिनासँग खेल्ने भएको छ ।