
काठमाडौं । गत सिजनको उपविजेता क्रोएसियाको क्वार्टरफाइनल यात्रा सहज भएन । समूह चरण पार गर्न संघर्ष गरेको क्रोएसियाले अन्तिम–१६ मा पनि जापानलाई हराउन पेनाल्टी सुटआउटसम्म पर्खनु परेको थियो । ठिकविपरीत ब्राजिलले भने अहिलेसम्म संघर्ष गर्नु परेको छैन ।
ब्राजिलका प्रशिक्षक टिटेले समूह चरणमा पहिलो दुई खेल जितेपछि क्यामरुनविरुद्धको खेलमा पहिलो रोजाइका सबै खेलाडीलाई आराम दिएका थिए । अन्तिम–१६ मा ब्राजिलले तुलनात्मक रूपमा सहज प्रतिद्वन्द्वी पायो । एसियाली प्रतिद्वन्द्वी दक्षिण कोरियाविरुद्ध ब्राजिलले ४–१ को सहज विजय हासिल गर्यो ।
१३ मिनेटभित्र दुई गोल खाएपछि दक्षिण कोरिया कुनै पनि समय सम्हालिन सकेन । अन्ततः नेइमारको टिमसँग दक्षिण कोरिया ४–१ ले स्तब्ध बन्यो । अब भने ब्राजिलको वास्तविक परीक्षण हुने समय आएको छ । युरोपियन राष्ट्र क्राएसियाले ब्राजिललाई राम्रो चुनौती पेस गर्न सक्छ ।
ज्लाटको डालिचको अनुभवी टिम क्रोएसियाले रुसमा सम्पन्न २०१८ को विश्वकपमा फाइनलसम्मको यात्रा तय गरेको थियो । उक्त संस्करणमा गोल्डेन बल जित्न सफल लुका मोड्रिच अझै पनि क्रोएसियाको मिडफिल्डमा छन् । उनको उपस्थिति मात्र पनि क्रोएसियाको टिमलाई प्रेरणादायी बनेको छ ।
ब्राजिलले क्वार्टरफाइनलसम्मको यात्रा तय गर्दा आफूलाई उपाधिको बलियो दाबेदारका रूपमा उभ्याइसकेको छ । त्यसकारण आज क्रोएसियालाई ब्राजिल अहिलेसम्मकै कठिन प्रतिद्वन्द्वी हुनेछ ।
डालिचको टिम क्रोएसियामा चोटको समस्या छैन भन्दा पनि हुन्छ । बिरामी भएका ‘लेफ्ट ब्याक’ बोर्ना सोसा पनि ठिक भइसकेका छन् । उनले जापानविरुद्धको खेल गुमाएका थिए ।
ब्राजिलमा पनि स्टार खेलाडी नेइमार चोटमुक्त भएर फर्किएका छन् । उनले दक्षिण कोरियाविरुद्ध पनि ८० मिनेट मैदानमा बिताएका थिए । तर, अर्का स्ट्राइकर गाब्रियल जिसस भने चोटका कारण उपलब्ध हुने छैनन् । घुँडाको चोटका कारण जिसस केही महिना मैदान बाहिर हुनेछन् ।
‘लेफ्ट ब्याक’ एलेक्स टेलास पनि चोटका कारण बाँकी खेल गुमाउने भएका छन् । त्यस्तै ‘फुलब्याक’ एलेक्स सान्ड्रो पनि चोटबाट गुज्रिएका छन् । तथापि उनी क्रोएसियाविरुद्ध उपलब्ध हुने सम्भावना भने छ ।
ब्राजिलले अहिलेसम्म क्रोएसियाविरुद्ध हारेको छैन । विश्वकपमा भएको दुवै भेटमा ब्राजिल विजयी भएको छ । त्यस्तै, एक मैत्रीपूर्ण खेलमा पनि नतिजा ब्राजिलकै पक्षमा छ ।
२००६ को विश्वकपमा ब्राजिल १–० ले विजयी भएको थियो भने २०१४ को विश्वकपमा ब्राजिलले क्रोएसियालाई ३–१ ले हराएको थियो । २०१८ मा खेलेको मैत्रीपूर्ण खेलमा पनि ब्राजिल २–० ले विजयी भएको थियो ।
गत विश्वकपको फाइनल खेलेको क्रोएसिया युरोकप २०२० को अन्तिम–१६ मा स्पेनसँग अतिरिक्त समयमा पराजित भएको थियो । २०२३ को नेसन्स कपमा भने क्रोएसियाले फाइनलमा स्थान बनाउन सफल भएको छ । डेनमार्क, फ्रान्स र अस्ट्रिया जस्ता टिम रहेको समूहमा क्रोएसिया शीर्ष स्थानमा रहेर फाइनलमा स्थान बनाउन सफल भएको हो ।
२०२० को युरोकपमा स्पेनसँग पराजित भएयता २० खेलमा क्रोएसियाले एक खेलमात्र हारेको छ । यस यात्रामा क्रोएसियाले फ्रान्स र डेनमार्कलाई पनि हराउन सफल भएको थियो । क्रोएसियाले पछिल्लो ९ मध्ये ५ खेलमा ‘क्लिन सिट’ राखेको छ ।
ब्राजिल पनि पछिल्लो १९ मध्ये एक खेलमा मात्र पराजित भएको छ । त्यो एक खेल क्यामरुनविरुद्ध हो । जुन समूह चरणको अन्तिम खेल थियो । टिटेको ब्राजिलले पछिल्लो ११ मध्ये १० खेल जितेको छ । त्यसमध्ये ७ खेलमा गोल खाएको छैन ।