
काठमाडौं । आयोजक कतार जारी फिफा विश्वकपको समूह चरणबाट बाहिरिने पहिलो टिम बनेको छ ।
समूह चरणको सुरुआती दुई खेलमा पराजित भएको कतार विश्वकपअन्तर्गत आज (शुक्रबार) भएको खेलमा इक्वेडर र नेदरल्यान्ड्सले १–१ को बराबरी खेल्दै अंक बाँडेपछि विश्वकपबाट बाहिरिने पहिलो राष्ट्र बनेको हो ।
कतार आजै भएको समूह चरणको दोस्रो खेलमा सेनेगलसँग ३–१ ले पराजित भएको थियो । यसअघि समूह चरणको पहिलो खेलमा कतार इक्वेडरसँग २–० ले पराजित भएको थियो ।
दुई हार बेहोरेको कतारले अब नेदरल्यान्ड्सविरुद्ध समूह चरणको अन्तिम खेल खेल्नेछ । तर, उक्त खेलमा कतारले जिते पनि त्यो प्रतियोगिताको अन्तिम १६ प्रवेशका लागि पर्याप्त बन्ने छैन ।
समूहमा दुई खेल खेल्दा पनि अंकविहीन कतार तालिकाको पुछारमा छ । समान खेल चार अंक जोडेका नेदरल्यान्ड्स र इक्वेडर क्रमशः तालिकाको पहिलो र दोस्रो स्थानमा छन् ।
यस्तै, समूह चरणको दोस्रो खेलमा कतारलाई हराएको सेनेगल तीन अंकसहित तेस्रो स्थानमा छ । समूहबाट शीर्ष दुई टिमले अन्तिम १६ को यात्रा तय गर्नेछन् ।