
काठमाडौं । योपटकको विश्वकप फुटबलका लागि चयन गरिएको गीत हो, ‘ह्याया ह्याया (बेटर टुगेदर)’ । ट्रिनिडाड कार्डोना, डेभिडो र आइशाको ‘ह्याया ह्याया...’ जस्तै प्रत्येक फिफा विश्वकपमा एउटा गीत सार्वजनिक गरिन्छ । विश्वकपका लागि बनाइने गीत सदैव संगीतप्रेमीका लागि एक महत्त्वपूर्ण संग्रह हो । र, यस्ता गीतको उद्देश्य हो, विश्व समुदायलाई एकीकृत गर्ने तथा खेल र संगीतबीचको खाडललाई कम गर्ने ।
हरेक विश्वकपमा फिफाले गीत सार्वजनिक गरे पनि सबैले सबैको ध्यान सायदै खिचेका होलान्, जति शकिराको ‘वाका वाका (दिस टाइम फर अफ्रिका)’ले खिच्यो । ‘वाका वाका’ दक्षिण अफ्रिकामा सम्पन्न २०१० को विश्वकपका लागि बनाइएको गीत थियो । उक्त गीत छोटो समयमै लोकप्रिय बन्यो । अझै पनि धेरैको मष्तिस्कमा विश्वकप भन्नेबित्तिकै यही गीत आउँछ । ‘वाका वाका’ धेरै देशमा लामो समय ट्रेन्डिङमा समेत बस्यो ।
‘बिलबोर्ड हट १००’ मा ३८औँ स्थानमा रहन सफल ‘वाका वाका’को एल्बम अमेरिकामा मात्र १० लाखप्रति बिक्री भएको थियो । उक्त गीतले ‘प्लेटिनम’ दर्जा पनि पाएको थियो । शकिराको अफिसियल युट्यब च्यानलमा यो गीतलाई आजसम्म तीन अर्ब २२ करोडभन्दा धेरैपटक हेरिएको छ ।
मार्कुस रोबेले निर्देशन गरेको म्युजिक भिडियोमा शकिराका श्रीमान् जेरार्ड पिकेलाई पनि देखाइएको छ । अहिले उनीहरूबीच सम्बन्धविच्छेद भइसकेको छ । २००६ मा इटालीले फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि उचालेको दृश्यबाट सुरु म्युजिक भिडियोमा दक्षिण अफ्रिकाको संस्कृति झल्काइएको छ । साथै, चर्चित फुटबलर डिएगो म्यारोडोना, जिनेदिन जिदान, लियोन मेसी, क्रिस्टयानो रोनाल्डो, ड्यानी आल्भेस, कार्लोस कामेनी, राफेल माक्र्वेजलाई देखाइएको छ । इटालीका फरवार्ड रोबर्टो बाजियोले १९९४ को विश्वकपमा ब्राजिलविरुद्ध पेनाल्टीमा गोल गर्न चुकेको दृष्य पनि राखिएको छ ।
किराले २०१० को विश्वकप उद्घाटन र समापन समारोहमा यो गीत प्रस्तुत गरेकी थिइन् । म्युजिक भिडियोमा शकिराको सुन्दर नृत्यका साथै उद्घाटन र समापन समारोहमा गरेको प्रस्तुतिले पनि यस गीतलाई अझ चर्चित बनाएको थियो ।
“विश्वकपका कुनै पनि गीतले शकिराको वाका वाकालाई हराउन सक्दैन,’’ विश्वकपको नयाँ गीत सार्वजनिक भएपछि ट्विटर प्रयोगकर्ता पपकल्चर २००० ले लेखेका छन् ।
‘वाका वाका’का शब्दहरू प्रोत्साहन र खेलकुदका बारेमा छन् ।
तिमी असल सिपाही हौ
आफ्ना चुनौतीहरू छनोट गर्दै
कहिले उचाइ छुँदै त कहिले धुलोमा पछारिँदै
फेरि लडाइँमा फर्किएका छौ
विश्वकपका गीतहरू सामान्यतः समुदाय, मित्रता र उत्साहको सेरोफेरोमा केन्द्रित हुन्छन् । त्यसकारण ‘वाका वाका’ विशेष थियो । त्यो दक्षिण अफ्रिकाको संस्कृति थियो । दक्षिण अफ्रिका जहाँ २०१० को विश्वकप प्रतियोगिता आयोजना गरिएको थियो ।
जब तपाईं लड्नुहुन्छ, उठ्नुहोस्, ओह ओह
र, यदि तपाईं खस्नुभयो भने फेरि उठ्नुहोस्, एह एह
आऊ, आऊ जसले तिमीलाई बोलाइरहेको छ
किनकि, यो अफ्रिका हो
गीतले सबै फुटबल समर्थकको ध्यान एकसाथ आफूतिर खिच्यो । यो गीत सदाबहार बन्छ/बन्दैन, त्यो त भविष्यले बताउला । तर, आजसम्म यसलाई उछिन्ने अर्को गीत फिफाले फुटबलप्रेमीलाई दिन सकेको छैन । ‘वाका वाका’ फुटबलप्रेमीमाझ मात्र सीमित रहेको गीत होइन, पप जानराको गीत सुन्ने अधिकांश स्रोताको मनमा घर बनाएको गीत हो यो ।
यो गीत त्यो वर्ष जित्ने स्पेनी राष्ट्रिय फुटबल टोलीका प्रशंसकहरूका लागि अझै खास रह्यो । र, स्मरणमा रहिरह्यो । त्यसकारण त स्पेनका एक समर्थकले ‘वाका वाका’को क्लिप राख्दै ट्विटरमा लेखिहाले, ‘‘नयाँ विश्वकप गीत नराम्रो भएकोले मैले मेरो देशले जितेको वर्षदेखिको सबैभन्दा राम्रो विश्वकप गीत पोस्ट गर्नुपर्यो ।’’
तीन फरक देश र संस्कृतिका कलाकारलाई एकै ठाउँमा ल्याइएकाले योपटकको ‘ह्याया ह्याया (बेटर टुगेदर)’ले प्रशंसा पाएको छ । ट्रिनिडाड कार्डोना एरिजोनाका पप संगीतकार हुन् । डेभिडो नाइजेरियाका अफ्रोबिट्समा चर्चिच कलाकार हुन् । आइशा कतारकी गायिका तथा गीतकार हुन्, जहाँ २०२२ मा विश्वकप आयोजना हुनेछ ।
‘वाका वाका (दिस टाइम फर अफ्रिका)’ गीतमा एक मात्र शंका थियो, शकिराको सट्टा अफ्रिकी गायक–गायिकले गाएको भए अझ राम्रो हुन्थ्यो भन्ने । तर, गीतको लोकप्रियताले त्यो शंका मेटाइदियो ।
‘ह्याया ह्याया (बेटर टुगेदर)’ले विश्वकपले प्रवर्द्धन गर्ने सांस्कृतिक एकता र मिश्रणलाई प्रतिविम्बित गर्छ । यद्यपि, धेरै प्रशंसकलाई विश्वास छैन कि यो २०१० को जस्तो लोकप्रिय हुनेछ ।
“विश्वकप गीतहरूको मापदण्ड उत्कृष्ट कृतिहरूको कारणले यति उच्च बनाइदिएको छ, शकिराको ट्रयाकलाई पनि पार गर्न सक्दैन,” ट्विटर प्रयोगकर्ता बेन्डोले लेखेका छन् ।
अरू केही विश्वकप गीतले पनि राम्रै प्रशंसा पाएका छन् । तर, ‘वाका वाका’ले सेट गरेको उचाइलाई छुन सकेका छैनन् ।
पछिल्ला १२ वर्षको प्रत्येक विश्वकप गीतलाई ‘वाका वाका’सँग दाँजिएको छ । र, यो दाँज्ने क्रम आउने वर्षहरूमा पनि जारी रहने सम्भावना छ ।
‘‘वाका वाकाले स्थापित गरेको चुनौती धेरै उच्च छ । हरेक नयाँ फिफा विश्वकप गीत त्यसैसँग तुलना हुनेछ,’’ रियालमड्रिडएक्स्ट्रा ट्विटर ह्यान्डल भएको प्रयोगकर्ताले लेखेका छन् ।
१९९८ को फ्रान्स विश्वकपका लागि बनाइएको रिक्की मार्टिनको ‘द कप अफ लाइफ’ पनि धेरै रुचाइएको गीत हो ।
यस्तै, दक्षिण अफिका विश्वकपमै बनाइएको के‘नान्सको ‘वेभिङ फ्ल्याग’ पनि चर्चित छ । पिटबुल र जोनिफर लोपेजले २०१४ को विश्वकपका लागि गाएको ‘वी आर वन (ओले ओले)’ पनि खेल र संगीतप्रेमीमाझ लोकप्रिय छ ।
१९७४ मा पश्चिम जर्मनीमा सम्पन्न विश्वकपका लागि पोल्यान्डका पपस्टार मार्यला रोडोविजले गाएको गीत ‘फुटबल’ले पनि त्यति बेला ठूलो चर्चा कमाएको थियो । तर, ‘वाका वाका’कै तहमा होइन ।
एजेन्सीको सहयोगमा ।