site stats
अर्जेन्टिनाविरुद्ध नेदरल्यान्ड्सलाई बदलाको अवसर 
)
अर्जेन्टिनाविरुद्ध नेदरल्यान्ड्सलाई बदलाको अवसर 

काठमाडौं । सन् २०१४ को विश्वकप सेमिफाइनलमा प्रतिस्पर्धा गरेका दुई ‘क्लासिक’ फुटबल महारथी अर्जेन्टिना र नेदरल्यान्ड्स आज पुनः कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्दैछन् ।

२०१४ को उक्त सेमिफाइनल खेलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अर्जेन्टिनाले फाइनलमा स्थान बनाएको थियो । यद्यपि, उपाधि भिडन्तमा जर्मनीसँग १–० ले पराजित भएपछि अर्जेन्टिनाले उपविजेतामा चित्त बुझाएको थियो । 

argentina team1670572545.jpg

कतारको लुसैल रंगशालामा आज नेदरल्यान्ड्स र लुईस भान हाललाई २०१४ को बदला लिने सुनौलो अवसर छ । ब्राजिलमा भएको २०१४ को विश्वकपमा भान हालले नै डच टिमको प्रशिक्षण सम्हालेका थिए ।

विश्वकपको क्वार्टरफाइनलसम्म आइपुग्दा समूह ‘ए’ को विजेता नेदरल्यान्ड्स अपराजित छ । नेदरल्यान्ड्सले समूह चरणका तीन खेलमध्ये दुईमा जित हात पार्दा एक खेल बराबरी खेलेको थियो । यस्तै, डच टिमले अन्तिम–१६ को खेलमा अमेरिकाको चुनौती ३–१ ले पन्छाएको थियो । 

ned1670572545.jpg
सन् २०२१ मा भान हाल पुनः नेदरल्यान्ड्सको प्रशिक्षणमा आएयता नेदरल्यान्ड्सले पछिल्लो १९ खेलमा हार बेहोरेको छैन । डच टिमले पछिल्लो १९ मध्ये १४ खेल जित्दा पाँच खेलमा बराबरी खेलेको छ । १९ खेलमै गोल गरेको नेदरल्यान्ड्सले आठ खेलमा ‘क्लिन सिट’ राखेको छ । 

हालको टिमका स्ट्राइकर मेम्फिस डिपेको फिटनेसमा प्रश्न रहेपनि उनले प्रि–क्वार्टरफाइनल अमेरिकाविरुद्ध ८३ मिनेट खेलेका थिए ।

यता, विश्वकपको पहिलो खेलमै साउदी अरेबियासँग अप्रत्यासित हार बेहोरेको अर्जेन्टिनाले भने समूह चरणका तीनमध्ये दुई खेल जितेको थियो । यो नै अर्जेन्टिनाले पछिल्लो ४० खेलमध्ये हार बेहोरेको एकमात्र खेल हो । साउदीसँगको हारका बाबजुद अर्जेन्टिना समूह ‘सी’ को विजेताको रूपमा अन्तिम–१६ मा प्रवेश गरेको थियो ।

arg1670572551.jpg
अर्जेन्टिनाले अन्तिम–१६ को खेलमा अस्ट्रेलियालाई २–१ ले हराउँदै सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्ससँगको भेट पक्का गरेको थियो । अर्जेन्टिनाले पछिल्लो नौमध्ये सात खेलमा ‘क्लिन सिट’ राखेको छ । नौखेलमध्ये अर्जेन्टिनाले साउदी अरेबिया र अस्ट्रेलियासँग गोल बेहोरेको थियो ।

लियोनल स्कालोनीको टिम अर्जेन्टिनालाई भने इन्जुरीले सताएको छ । चोटकै कारण टिमका प्रभावकारी विंगर एन्जल डी मारियाले अन्तिम–१६ को खेल गुमाएका थिए । यद्यपि, उनी नेदरल्यान्ड्सविरुद्ध भने टिममा फर्किने अनुमान गरिएको छ ।

argentina 1 1670572551.jpg
तर, डी मारियाकै स्थानमा खेलेका पपु गोमेजले भने अस्ट्रेलियाविरुद्धको खेलमा एन्कलमा चोट बोकेका थिए । चोटकै कारण अर्का मिडफिल्डर रोड्रिगो डी पाउल खेल्ने नखेल्नेबारे पनि शंका व्यक्त गरिएको छ । 

स्ट्राइकर लौटारो माट्रिनेज पनि एन्कल इन्जुरीबाट गुज्रिरहेका छन् । केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले विश्वकपको खेल खेल्न मार्टिनेजले ‘पेन किलर इन्जेक्सन’ लिने गरेको खुलाएका थिए । 

आजको खेलमा जित निकाल्ने टिमले फाइनल प्रवेशका लागि ब्राजिल र क्रोएसियाबीचको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति:शुक्रबार, मंसिर २३, २०७९  १४:२०
Post Comments